माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र, नेपाली सेनाको टोली खन्ने काममा

१५ भदौ, काठमाडौ ।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाले खोज तथा उद्धार प्रयास तीव्र पारेको छ।

आज बिहान ९ बजेदेखि नेपाली सेनाको भैरवनाथ गणका थप १६ जना सैनिक सुरुङ क्षेत्रमा परिचालन भई खन्ने काममा जुटेका छन्। यसअघि पनि भैरवनाथ गणका १५ जना तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले सुरुङभित्र खोज तथा उद्धारको प्रयास सुरु गरेको थियो।

सुरुङभित्र मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाले सम्भावित स्थानमा पुग्ने गरी उद्धार कार्य अघि बढाएको हो। बाढीका कारण आयोजनाको सुरुङ क्षेत्रमा ठूलो क्षति पुगेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

यसअघि नेपाल सरकारको अनुमतिमा भदौ १३ गते चिनियाँ उद्धार टोली निजी हेलिकप्टरसहित नुवाकोटको त्रिशूली पुगेको थियो। नेपाली सेनासँग समन्वय गरी उक्त टोली माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाको सुरुङ क्षेत्रमा पुगेको थियो।

चिनियाँ टोलीले सोही दिन सुरुङ क्षेत्रको रेकी (स्थलगत निरीक्षण) गर्नुका साथै रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको समेत निरीक्षण गरेको थियो। दुवै आयोजनाको अवस्थाबारे अध्ययन गरेपछि चिनियाँ टोलीले नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो।

भदौ १४ गते भने चिनियाँ उद्धार टोली माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रित भएको थियो।

यता माथिल्लो त्रिशूली–३ ‘बी’मा नेपाली सेनाले नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। सुरुङभित्र रहेका सम्भावित व्यक्तिहरूको अवस्था पत्ता लगाउन सेनाले खन्ने कामलाई प्राथमिकताका साथ अघि बढाएको हो।

सुरुङभित्र कति व्यक्ति फसेका छन् भन्नेबारे भने हालसम्म यकिन विवरण सार्वजनिक भएको छैन। उद्धार टोलीले सुरुङभित्रको अवस्था पहिचान गर्दै सम्भावित स्थानमा पुग्ने प्रयास गरिरहेको छ।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more