बाढीबाट ७८१ जनाको मृत्यु, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री साह

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन साहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्पूर्ण राज्य संयन्त्र युद्धस्तरमा परिचालन गरिएको बताएका छन्।

आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री साहले विपद्का कारण भएको जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्न प्रतिकूल मौसम र जटिल भूगोलका कारण चुनौती भइरहेको बताए। उनले संकटको यस घडीमा सरकार नागरिकको जीवनरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर निरन्तर काम गरिरहेको दाबी गरे।

सरकारका अनुसार हालसम्म ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि आज मात्रै थप ७२ सहित ३९४ उडान सञ्चालन भइसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्रीले जानकारी दिए।

विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत २७९ जनाको उद्धार गरिएको छ। रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको तथा सुरुङमा फसेकाको खोजीका लागि चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरिरहेको प्रधानमन्त्री साहले बताए।

नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा समेत उद्धार कार्य जारी रहेको छ। सुरुङभित्र पुग्न नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङसहित विभिन्न प्रविधिबाट काम गरिरहेका छन्। घटनास्थलमा सुरक्षाकर्मी तथा तालिमप्राप्त कुकुरसहित ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ।

प्रधानमन्त्रीका अनुसार बाढीबाट घाइते भएका २६७ जनाको उद्धार गरी उपचार भइरहेको छ भने त्यसमध्ये १५६ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

विपद् प्रभावितका लागि स्थापना गरिएको राहत कोषमा समेत उल्लेख्य रकम जम्मा भएको सरकारले जनाएको छ। आइतबार मध्यान्हसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ। हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर प्राप्त भएको प्रधानमन्त्रीले जानकारी दिए।

त्यस्तै, रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।

अन्तर्राष्ट्रिय सहयोगसमेत बढिरहेको प्रधानमन्त्री साहले बताए। भारत, चीन, अमेरिका, स्विट्जरल्यान्डलगायतका देश तथा अन्तर्राष्ट्रिय संस्थाबाट आर्थिक, प्राविधिक तथा मानवीय सहयोग प्राप्त भइरहेको छ। भारतबाट हालसम्म ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको र भारतले २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाएको उनले जानकारी दिए।

बाढीका कारण अवरुद्ध सञ्चार सेवा पनि क्रमशः सञ्चालनमा आएको छ। नेपाल टेलिकम र एनसेलका अधिकांश अवरुद्ध टावर पुनः सञ्चालनमा ल्याइएको तथा प्रभावित क्षेत्रमा स्याटलाइट फोनसमेत पठाइएको सरकारले जनाएको छ।

प्रधानमन्त्री साहले बाढीमा ७८१ जनाको शव फेला परेको जानकारी दिँदै पहिचान भएका शव आफन्तलाई बुझाउने र पहिचान हुन नसकेका शवलाई कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने काम भइरहेको बताए।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री साहले विपद्को सामना गर्न राष्ट्रिय एकता र सामूहिक प्रयास आवश्यक रहेको भन्दै प्रभावित प्रत्येक नागरिकसम्म राहत पुर्‍याउने तथा पुनर्निर्माण र पुनःस्थापनाको काम पूर्ण नतिजा नआएसम्म जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more