विनाशकारी बाढीपछि नेपालमा भारतको थप सहयोग, ‘टनेल रेस्क्यु टिम’ पठाउने तयारी

१२ भदौ, काठमाडौं । नेपालमा विनाशकारी बाढीपछि खोज तथा उद्धार अभियान जारी रहँदा भारतले नेपालमा विशेष ‘टनेल रेस्क्यु टिम’ पठाउने तयारी गरेको छ। नेपालको अनुरोधपछि भारतले उद्धारका लागि विशेष टोली पठाउन लागेको जनाएको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार नियमित पत्रकार सम्मेलनमा नेपालमा उद्धारका लागि विशेष टोली पठाउने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार उद्धार टोली पठाउनुअघि आवश्यक उपकरण तथा सामग्रीको अवस्था बुझ्न रेक्की टोली नेपाल आउनेछ।

भारतले उद्धार टोलीसँगै स्वास्थ्यकर्मीको टोलीसमेत नेपाल पठाउने तयारी गरेको छ। बाढीका कारण विभिन्न क्षेत्रमा उद्धार तथा उपचारको आवश्यकता बढिरहेका बेला भारतले आफ्नो मानवीय सहयोगलाई थप विस्तार गर्न लागेको हो।

यसैबीच, भारतले नेपाललाई आवश्यक परे बेलीब्रिजसमेत उपलब्ध गराउन सकिने जनाएको छ। नेपालले शुक्रबार प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन भारत र चीनसँग ४२ वटा बेलीब्रिज उपलब्ध गराइदिन आग्रह गरेको थियो।

भारतले नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) का उद्धारकर्तासमेत नेपाल पठाउने प्रस्ताव गरेको छ। उक्त प्रस्तावबारे नेपाल सरकारको जवाफ पर्खिरहेको प्रवक्ता जैसवालले बताएका छन्।

नेपालका बाढीपीडितका लागि भारतबाट राहत सामग्री पठाउने क्रमसमेत जारी छ। जैसवालका अनुसार शुक्रबार साँझसम्ममा करिब १३ टन राहत सामग्री बोकेको तेस्रो विमान काठमाडौं पठाउने तयारी गरिएको थियो।

यसअघि भारतले दुईवटा सैन्य विमानमार्फत नेपालमा राहत सामग्री पठाइसकेको छ। भारतीय विदेश मन्त्रालयका अनुसार ती दुई विमानबाट हालसम्म ४७.५ टन राहत सामग्री नेपाल पठाइएको छ।

भारतबाट पठाइएका राहत सामग्रीमा औषधि, खाद्य सामग्री तथा अन्य अत्यावश्यक सामग्री रहेका छन्। नेपालमा जारी खोज, उद्धार तथा राहत अभियानमा सहयोग पुर्‍याउन भारतले थप सहयोग विस्तार गर्ने संकेत दिएको छ।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more