‘गरिबको मात्रै संरचना नभत्काइयोस्, ठूलाबडामाथि पनि डोजर चलोस्’ : सांसद मनिष झा

८ भदौ, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जनकपुरमा सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण हटाउने क्रममा सबैमाथि समान व्यवहार गर्न सरकारसँग आग्रह गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद झाले अतिक्रमण हटाउने अभियान गरिबका संरचना हटाउनेमा मात्रै सीमित हुने र पहुँचवालाका संरचनालाई नछुने हो कि भन्ने आशंका जनकपुरवासीमा रहेको बताए।
उनले जनकपुरमा सार्वजनिक जग्गा तथा पोखरी अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाएर ती जमिन सार्वजनिक प्रयोजनमै फर्काउनुपर्नेमा जोड दिए। उनका अनुसार शनिबारदेखि जनकपुरमा सार्वजनिक जग्गा तथा पोखरी आसपासको अतिक्रमण हटाउने क्रममा डोजर चलाइएको छ। सो क्रममा सातवटा पोखरी र करिब ६५ वटा घर तथा संरचना हटाइएको उनले बताए।
“कहीँ गरिबहरूको मात्रै बस्ती हटाउने र ठूलाबडालाई नछुने हो कि भन्ने त्रास र आशंका जनकपुरमा छ,” झाले भने, “अतिक्रमण हटाउने अभियानमा सबैमाथि समान व्यवहार हुनुपर्छ।”
सांसद झाले पोखरी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका होटल, अस्पताल, पार्किङ तथा भाडामा लगाइएका संरचना पनि तत्काल हटाउनुपर्ने बताए। आफूले गुठी संस्थानसँग यस विषयमा कुरा गरेको र १५ दिनभित्र सबै अतिक्रमित संरचना हटाउने प्रतिबद्धता पाएको उनको भनाइ छ।
उनले २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित समितिले अध्ययनपछि तयार पारेको प्रतिवेदनमा जनकपुरमा करिब ९ सय ५० बिघा जमिन अतिक्रमण भएको उल्लेख रहेको बताए। सोही प्रतिवेदनका आधारमा सरकारले अहिले अतिक्रमण हटाउने अभियान अघि बढाएको उनको भनाइ छ।
“संघीय सरकारको तर्फबाट प्रधानमन्त्रीले समेत विशेष ध्यान दिएर भइरहेको यो कामप्रति जनकपुरवासी कृतज्ञ छन्,” झाले भने, “तर यो अभियानको लक्ष्य र प्रहार केवल गरिबहरूमाथि मात्र नहोस्। सबैमाथि समान व्यवहार गरियोस्।”
उनले जनकपुरमा अतिक्रमण भएको भनिएको करिब ९ सय ५० बिघा सार्वजनिक जमिन संरक्षण गरी पुनः सार्वजनिक प्रयोजनमा फर्काउने अभियानलाई निष्पक्ष र प्रभावकारी रूपमा अघि बढाउन सरकारसँग आग्रह गरे।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more