पोस्ट–एन्टिबायोटिक संकट रोक्न जनकपुरमा ‘डग मर्निङ वाक अभियान’ सुरु

३० साउन, जनकपुरधाम। आगामी १५–२० वर्षमा कोरोना महामारीभन्दा १०० गुणा ठूलो महामारीको जोखिम आउन सक्ने भन्दै त्यसबाट बच्न आजैदेखि सचेत हुन चिकित्सकहरूले आह्वान गरेका छन्। एन्टिबायोटिकको जथाभावी प्रयोगका कारण बढ्दै गएको एन्टिमाइक्रोबियल रेजिस्टेन्स (AMR) को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाममा ‘डग मर्निङ वाक अभियान’ सुरु गरिएको हो।

जनकपुरधामलाई स्वस्थ, सचेत र नमुना सहर बनाउने उद्देश्यसहित नेपालभरिका चिकित्सकहरूको आह्वानमा सुरु गरिएको अभियानअन्तर्गत आज बिहान रामानन्द चोकबाट मर्निङ वाक सुरु गरिएको थियो। सहभागीहरू भानु चोकसम्म पुगेर अभियानको समापन गरेका थिए।

समापन कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सम्बोधन गर्दै एन्टिबायोटिकको सही प्रयोग र स्वास्थ्यप्रति जनचेतना अभिवृद्धिका लागि यस्ता अभियान महत्वपूर्ण रहेको बताए।

चिकित्सकहरूले एन्टिबायोटिक चिकित्सकको सल्लाह र पुर्जाबिना प्रयोग नगर्न तथा चिकित्सकले तोकेको मात्रा र अवधि पूरा गर्न आग्रह गरेका छन्। अभियानमार्फत “रोज कुरा गरौँ, डाक्टरले भनेको डोज पूरा गरौँ” भन्ने सन्देश प्रवाह गरिएको छ।

एन्टिबायोटिकको जथाभावी तथा अपूर्ण प्रयोगका कारण ब्याक्टेरियाले औषधिविरुद्ध प्रतिरोध क्षमता विकास गर्दा सामान्य संक्रमणसमेत उपचार गर्न कठिन हुने चिकित्सकहरूको भनाइ छ। यस्तो अवस्था बढ्दै गएमा भविष्यमा प्रभावकारी औषधि नपाउने अवस्था सिर्जना हुन सक्ने उनीहरूले चेतावनी दिएका छन्।

यसै सन्दर्भमा “डाक्टरको पुर्जाबिना एन्टिबायोटिक—स्लो प्वाइजनको टिक–टिक” भन्ने सन्देशसहित अभियान सञ्चालन गरिएको हो। चिकित्सकहरूले स्वस्थ समाज र सुरक्षित भविष्यका लागि प्रत्येक नागरिकलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग गर्न र अभियानमा सहभागी हुन अपिल गरेका छन्।

अभियानअन्तर्गत आगामी शनिबारदेखि हरेक शनिबार बिहान ७ बजे जानकी मन्दिर र तिरहुतिया गाछीबाट समेत मर्निङ वाक सञ्चालन गरिने जनाइएको छ। अभियानले नियमित शारीरिक गतिविधिसँगै एन्टिबायोटिकको विवेकपूर्ण प्रयोगबारे जनचेतना फैलाउने लक्ष्य राखेको छ।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more