२९ साउन, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कुनै व्यक्तिमाथि परेको उजुरी वा लगाइएको आरोपकै आधारमा तत्काल दोषी करार गर्न नमिल्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरीको पोसाक खरिद प्रकरणमा अनियमितता भएको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) माथि छानबिन गर्न माग गरेपछि गृहमन्त्री गुरुङले यस्तो प्रतिक्रिया दिएका हुन्।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले सांसद सुनारको अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। उनले उजुरी वा आरोपकै आधारमा कसैलाई दोषी ठहर गर्नु न्यायसंगत नहुने स्पष्ट पारे।
‘कसैलाई एउटा उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन। आरोप कसैले जे लगाउन पनि सक्यो भन्दैमा कसैको चरित्र हत्या गर्न पाइँदैन,’ गृहमन्त्री गुरुङले भने।
उनले आरोप पुष्टि नभएसम्म कुनै पनि व्यक्तिलाई दोषी करार गर्न नमिल्ने बताए। कानुनी प्रक्रियाबाट आरोपको सत्यतथ्य छानबिन हुनुपर्ने उनको भनाइ थियो।
यसअघि सांसद सुनारले लेखा समितिको बैठकमा प्रहरीको पोसाक खरिद प्रकरणमा अनियमितता भएको दाबी गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) माथि छानबिन गर्न माग गरेका थिए।
गृहमन्त्री गुरुङको भनाइले उजुरी तथा आरोपका आधारमा सार्वजनिक पदमा रहेका व्यक्तिमाथि निष्कर्षमा पुग्नुअघि कानुनी प्रक्रियाबाट तथ्यको पुष्टि गर्नुपर्ने विषयलाई जोड दिएको छ।


















