२९ साउन, काठमाडौं । भारतको झारखण्डस्थित कोडरमा जिल्लामा नेपाली तीर्थयात्री सवार बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने ३४ भन्दा बढी यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
रौतहटबाट धार्मिक यात्राका लागि भारत पुगेका तीर्थयात्री सवार बस झारखण्डको सतगावाँ थाना क्षेत्रअन्तर्गत पोखरडीहा मोड नजिकै शुक्रबार बिहान दुर्घटनामा परेको हो। बसमा सवार तीर्थयात्रीले बाबा वैद्यनाथ धाममा पूजाआजा गरेपछि फर्किने क्रममा दुर्घटना भएको बताइएको छ।
दुर्घटनामा मृत्यु हुनेमा रौतहटका १२ वर्षीय शिवम कुमार, उनकी ६० वर्षीया हजुरआमा सुन्दर बाला र ६० वर्षीय काका/चचेरे हजुरबुबा नवलकिशोर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रहरीका अनुसार करिब चार दिनअघि रौतहटबाट तीर्थयात्रीहरू देवघर पुगेका थिए। बाबा वैद्यनाथको दर्शनपछि उनीहरू बिहारको राजगीरतर्फ जाने क्रममा पोखरडीहा मोडमा पुगेका बेला बस र अनियन्त्रित ट्रकबीच ठक्कर भएको थियो। ठक्करपछि बसमा सवार यात्रुहरूबीच भागदौड मच्चिएको थियो।
दुर्घटनाको खबर पाएलगत्तै स्थानीय बासिन्दा र प्रहरी घटनास्थल पुगेका थिए। उनीहरूले बसमा फसेका घाइते यात्रुको उद्धार गरी सतगावाँस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा पुर्याएका थिए। प्राथमिक उपचारपछि गम्भीर घाइतेमध्ये सात जनालाई थप उपचारका लागि कोडरमा सदर अस्पताल रेफर गरिएको जनाइएको छ।
दुर्घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। दुर्घटनामा घाइते भएका नेपाली तीर्थयात्रीको अवस्था तथा अन्य विवरणबारे थप जानकारी आउन बाँकी छ।


















