वालेन सरकारविरुद्ध आन्दोलन घोषणा गरेको कमन जेनजीले शनिबार पत्रकार सम्मेलन गर्दै

२९ साउन, काठमाडौ । सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको कमन जेनजी नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले वर्तमान सरकारले जेनजीका माग सम्बोधन नगरेकाले आन्दोलनको विकल्प नरहेको बताएका छन्। उनका अनुसार कमन जेनजी नेपालले आगामी २३ भदौमा काठमाडौंसहित देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने घोषणा यसअघि नै गरिसकेको छ।
‘देशको वर्तमान अवस्था र जेनजी आन्दोलनको समीक्षा गर्दै वर्तमान सरकारका सन्दर्भमा विभिन्न जेनजी संगठन र अभियन्ताहरूको विशेष पत्रकार सम्मेलनसहित अन्तरक्रिया कार्यक्रम गर्न लागिएको हो,’ अध्यक्ष साहले भने।
काठमाडौंको संवाद डबलीमा हुने कार्यक्रममा कमन जेनजी नेपालका अध्यक्ष विकेश साहसहित गरिखान देऊका डा. जगत विक, जेनजी अभियन्ताहरू रविकिरण हमाल, कृष्णमोहन सहनी, सौरव भण्डारी, विरचन विके, सुनिल सिंह, सरिस्मा थापा र अभिनव वाग्ले सहभागी हुने जनाइएको छ।
त्यस्तै, वैदिक सनातन युवा मोर्चाका राष्ट्रिय अध्यक्ष सुशील बराल, जेनजी मोमेन्ट एलाइन्सका अमित खनाल, मिथिला जेनजी एलाइन्सका शशीकुमार यादव, कर्णाली जेनजीका संयोजक दिपेन्द्र विके, जेनजी अभियन्ता अमृतकुमार बोहरा, कमन जेनजी नेपालका उज्जवल शर्मा र रोनिश साहलगायतका अभियन्ताहरू पनि कार्यक्रममा सहभागी हुने बताइएको छ।
जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्न लाग्दा पनि आफूहरूले उठाएका मुद्दा सम्बोधन नभएको कमन जेनजीको दाबी छ। वालेन शाह नेतृत्वको सरकारले देशलाई निकासविहीन बनाएको आरोप लगाउँदै संगठनले सरकारलाई खबरदारी गर्न आन्दोलन घोषणा गरेको जनाएको छ।
कमन जेनजी नेपालले आगामी २३ भदौमा ‘फेक शासनविरुद्ध असल शासन’ भन्ने नारासहित देशव्यापी प्रदर्शन गर्ने जनाएको छ।
अध्यक्ष साहका अनुसार जेनजी आन्दोलनको उद्देश्य केवल सरकार परिवर्तन गर्नु नभई समग्र प्रणालीमा आमूल परिवर्तन ल्याउनु थियो। तर केही ‘छद्मभेषी र स्वार्थी समूह’ले आन्दोलनलाई हाइज्याक गरेर सरकार परिवर्तनको खेलमा मात्र सीमित पारेको उनले आरोप लगाए।
आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद र घाइतेहरू सहाराविहीन बनेको तथा परिवर्तन चाहने नेपाली जनता निराश भएको भन्दै साहले जेनजी आन्दोलनका माग यथाशीघ्र सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।
कमन जेनजी नेपालले आफूहरूको आन्दोलन ‘रहर नभई बाध्यता’ भएको बताउँदै परिवर्तन चाहने युवा, राजनीतिक दल, नागरिक समाज तथा राष्ट्रवादी शक्तिहरूलाई एकजुट हुन आह्वानसमेत गरेको छ।

  • सम्बन्धित समाचारहरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव सङ्कलन

    Read more

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more