विनय यादवको आमरण अनशनप्रति कांग्रेसको ध्यानाकर्षण, सरकारसँग तत्काल संवाद गर्न आग्रह

२५ साउन, काठमाडौ । — सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको दुःखद घटनालाई लिएर विभिन्न माग राख्दै राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले जारी राखेको आमरण अनशनप्रति नेपाली कांग्रेसको सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानले गम्भीर ध्यानाकर्षण जनाएको छ।
महाअभियानको केन्द्रीय समन्वय समितिले सोमबार प्रेस वक्तव्य जारी गर्दै आमरण अनशन १२औँ दिनमा प्रवेश गरिसक्दा पनि सरकारले अनशनरत पक्षसँग संवाद गरी जायज माग सम्बोधन गर्दै अनशन तोडाउन ठोस पहल नगरेको भन्दै चिन्ता व्यक्त गरेको हो।
समितिका संयोजक शंकर भण्डारीद्वारा जारी वक्तव्यमा नेपाली कांग्रेस र सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानले आमरण अनशन बसिरहेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको जीवन सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै सरकारले अघि सारेका जायज मागप्रति ऐक्यबद्धता जनाएको उल्लेख छ।
सुनसरी घटनामा ज्यान गुमाएका परिवारलाई न्याय, घाइतेहरूको पूर्ण उपचार, घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कानुनी कारबाहीको माग राखेर सुरु भएको आमरण अनशनलाई केवल राजनीतिक विरोधका रूपमा नलिन पनि समितिले सरकारलाई आग्रह गरेको छ।
नागरिकको न्याय र सुरक्षासँग जोडिएको गम्भीर विषयमा अनशनरत पक्षसँग यथाशीघ्र संवाद गरी आपसी सहमतिका आधारमा माग सम्बोधन गर्न सरकारसँग जोडदार माग गरिएको छ।
त्यस्तै, नेपालको सीमावर्ती क्षेत्रमा हुने अवैध आवतजावत, गैरकानुनी बसोबास तथा सम्भावित साम्प्रदायिक अतिवादी गतिविधिलाई नियन्त्रणमा लिएर मधेशमा शान्ति र अमनचयन कायम गर्न सरकारको प्रभावकारी पहल हुनुपर्ने मागसमेत समितिले गरेको छ।

  • सम्बन्धित समाचारहरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव सङ्कलन

    Read more

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more