२३ साउन , काठमाडौ । राष्ट्रिय एकता दलका अध्यक्ष तथा हिन्दुवादी नेता विनय यादवले हिन्दू समाजको रक्षा, न्याय तथा विभिन्न माग सम्बोधनको माग गर्दै सुरु गरेको आमरण अनशन दशौँ दिनमा प्रवेश गरेको छ।
दश दिनदेखि अन्न त्यागेर अनशनमा बसेका अध्यक्ष यादवको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको राष्ट्रिय एकता दलले जनाएको छ। लामो समयसम्म खाना नखाई अनशनमा बसेका कारण स्वास्थ्यमा थप जटिलता आउन सक्ने भन्दै समर्थक तथा शुभेच्छुकहरूले चिन्ता व्यक्त गरेका छन्।
अनशनको दशौँ दिनसम्म पनि सरकारले आफूहरूले उठाएका माग सम्बोधन तथा समस्या समाधानका लागि ठोस पहल नगरेको भन्दै राष्ट्रिय एकता दलले सरकारको ध्यानाकर्षण गराएको छ।
दलका अनुसार अध्यक्ष यादवको अनशन व्यक्तिगत स्वार्थका लागि नभई हिन्दू समाजको अधिकार, न्याय तथा जायज माग सम्बोधनका लागि गरिएको संघर्ष हो। स्वास्थ्य अवस्था थप गम्भीर बन्नुअघि सरकारले तत्काल संवाद र वार्तामार्फत समस्या समाधान गर्नुपर्ने दलको माग छ।
यसैबीच, अध्यक्ष यादवको जीवनरक्षाका लागि आवाज उठाउन तथा उनले उठाएका माग सम्बोधन गर्न सरकारलाई दबाब दिन राष्ट्रिय एकता दलले हिन्दुवादी, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, पेशाकर्मी, सञ्चारकर्मी तथा न्यायप्रेमी नागरिकलाई अपिल गरेको छ।
दशौँ दिनसम्म पनि आमरण अनशन जारी रहेपछि अध्यक्ष यादवको स्वास्थ्य अवस्था थप जोखिममा पर्न सक्ने भन्दै सरकारले तत्काल वार्ता र समस्या समाधानका लागि पहल गर्छ कि गर्दैन भन्ने विषयमा चासो बढेको छ।



















