१३ साउन , काठमाडौ । सुनसरी लगायत देशका विभिन्न जिल्लामा हालै विकसित संवेदनशील तथा दुःखद घटनाक्रमपछि प्रमुख राजनीतिक दलहरूले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा संयुक्त अपिल जारी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सोमबार बसेको सर्वदलीय बैठकले देशको पछिल्लो अवस्थाबारे गम्भीर समीक्षा गर्दै सात बुँदे संयुक्त वक्तव्य सार्वजनिक गरेको हो।
संयुक्त वक्तव्यमा हालैका घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
दलहरूले नेपालको बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक समाजमा कायम रहेको सामाजिक सद्भाव, सहिष्णुता र एकतालाई कुनै पनि प्रकारका उक्साहटपूर्ण गतिविधिबाट कमजोर हुन नदिन सबै नागरिकलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन्। वक्तव्यमा आक्रोश, हिंसा र द्वन्द्वले समस्या समाधान नगर्ने उल्लेख गर्दै संवाद, सहमति र कानुनी प्रक्रियामार्फत मात्र दीर्घकालीन समाधान सम्भव हुनेमा जोड दिइएको छ।
यसैगरी प्रदेश, जिल्ला तथा स्थानीय तहमा सर्वदलीय र सर्वपक्षीय बैठक आयोजना गरी धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा शान्ति कायम राख्ने पहल गर्न सम्बन्धित पार्टी संरचनालाई निर्देशन दिइएको छ। स्थानीय स्तरमै संवादको वातावरण निर्माण गरी नागरिकमा विश्वास कायम गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।
वक्तव्यमा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न विशेष आग्रह गरिएको छ। भ्रामक सूचना, अफवाह तथा घृणात्मक अभिव्यक्तिले संवेदनशील अवस्थालाई थप जटिल बनाउन सक्ने भएकाले तथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न नागरिक तथा सञ्चारमाध्यमलाई अपिल गरिएको छ।
राजनीतिक दलहरूले नेपाल सरकारको ध्यानाकर्षण गराउँदै नागरिकको जिउधनको सुरक्षा राज्यको पहिलो दायित्व भएको स्मरण गराएका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न, पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।
संयुक्त वक्तव्यमा राष्ट्रिय एकता र सामाजिक सद्भावको संरक्षणका लागि सबै राजनीतिक दल एकताबद्ध रहेको जनाउँदै उत्पन्न समस्याको दीगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
संयुक्त वक्तव्यमा रास्वपाका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव ओरेन राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत तथा जसपा नेपालका नेता प्रकाश अधिकारीको हस्ताक्षर रहेको जनाइएको छ।
















