सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

१३ साउन, काठमाडौ । प्रधानमन्त्री बालेन साहले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही हुने र पीडितले न्याय पाउने विश्वास दिलाएका छन्।
मंगलबार मध्य राति राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री साहले सुनसरीको घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारले पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने बताएका छन्।
प्रधानमन्त्री साहले सुरक्षाकर्मीको गोलीबाट नागरिकको मृत्यु र घाइते हुनु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै त्यसबारे अनुसन्धान सुरु भइसकेको र संलग्न दोषीलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे। सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने उनको भनाइ छ।
उनले सरकार आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउने दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री साहले नागरिकहरूलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्याग्न आग्रह गर्दै कुनै पनि उक्साहट वा हिंसात्मक गतिविधिमा सहभागी नहुन अनुरोध गरेका छन्। उनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी प्रेम तथा सम्मान कायम राख्न सबै पक्षलाई आह्वान गर्दै संयमित र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गरेका छन्।
उनले “मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो” भन्दै सामाजिक एकता र शान्ति कायम राख्न सबै नागरिकको सहयोग आवश्यक रहेको बताएका छन्।

  • सम्बन्धित समाचारहरु

    धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

    Read more

    सुनसरी घटनामा न्यायको माग गर्दै राजधानीमा प्रदर्शन, विनय यादवले आमरण अनशन बस्ने चेतावनी

    Read more