देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय एकता दलको ध्यानाकर्षण

काठमाडौं, साउन ११ — राष्ट्रिय एकता दलले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक झडप तथा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु र दर्जनौँ स्थानीय घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
दलका केन्द्रीय अध्यक्ष विनय यादवद्वारा जारी विज्ञप्तिमा साउने सोमबारका अवसरमा बोलबम यात्राको तयारीका क्रममा मन्दिर परिसरमा भएको घटनाले धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा गम्भीर आघात पुगेको उल्लेख गरिएको छ। विज्ञप्तिमा धार्मिक आस्थाको प्रतीक झण्डा च्यातिएको तथा श्रद्धालुमाथि आक्रमण भएको दाबी गर्दै यस्ता गतिविधिको निन्दा गरिएको छ।
राष्ट्रिय एकता दलले घटनापछि तनावपूर्ण अवस्थामा भीड नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग गरिएको आरोप लगाउँदै प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको तथा मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, अमितकुमार यादव, रविन्द्र मेहता, सुनिलकुमार मेहतालगायत धेरै स्थानीय घाइते भएको जनाएको छ।
दलले घटनाको वास्तविक पृष्ठभूमिभन्दा फरक ढंगले केही सञ्चारमाध्यमले डीजे (ध्वनि) सम्बन्धी विषयलाई मात्र मुख्य कारणका रूपमा प्रस्तुत गरेको भन्दै त्यसप्रति पनि आपत्ति जनाएको छ। सञ्चारमाध्यमले सत्य, सन्तुलित र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिइएको छ।
विज्ञप्तिमार्फत राष्ट्रिय एकता दलले सरकारसँग मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, सबै घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न, घटनाको उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, धार्मिक स्वतन्त्रता र श्रद्धालुको सुरक्षाको सुनिश्चितता गर्न तथा तथ्यमा आधारित सूचना प्रवाह गर्न माग गरेको छ।
साथै दलले सम्पूर्ण नागरिकलाई संयम अपनाउन, सामाजिक सद्भाव र भाइचारा कायम राख्न तथा कानुनी र लोकतान्त्रिक माध्यमबाट न्यायको पक्षमा उभिन आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more