इरानमाथि लगातार हवाई आक्रमण, ट्रम्पले दिए थप ठूलो कारबाहीको संकेत

८ साउन , काठमाडौं।  — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप ठूलो सैन्य कारबाही गर्ने संकेत दिएपछि मध्यपूर्वमा अमेरिका–इरान तनाव थप चर्किएको छ।
अमेरिकी केन्द्रीय कमाण्ड (CENTCOM) ले इरानमाथि लगातार १३औँ रात हवाई आक्रमण गरेको जनाएको छ। आक्रमणमा सैन्य कमाण्ड सेन्टर, ड्रोन भण्डारण केन्द्र, सञ्चार सञ्जाल, तटीय निगरानी प्रणाली तथा समुद्री सैन्य संरचनालाई निशाना बनाइएको अमेरिकी पक्षले दाबी गरेको छ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार खुजेस्तान प्रान्तको अहवाज क्षेत्रमा भएको मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घटनापछि इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाको कारबाहीलाई “विवेकहीन आक्रामकता” को संज्ञा दिँदै कडा चेतावनी दिएका छन्। उनले ट्रम्प प्रशासनले युद्धको मूल्य अझ महँगो चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन्।
यसैबीच अमेरिकी वायुसेनाले तेहरानसहित खोंदाब, खोर्रमाबाद, कोनारक र जास्क क्षेत्रमा पनि आक्रमण गरेको बताइएको छ। रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलसन्धिनजिकै रहेको जास्क बन्दरगाहमा ठूला विस्फोट भएको जनाइएको छ। इरानले राजधानी तेहरानको सुरक्षाका लागि हवाई प्रतिरक्षा (एयर डिफेन्स) प्रणाली पूर्ण रूपमा सक्रिय पारिएको जनाएको छ।
युद्धको प्रभाव अमेरिकी पक्षमा पनि देखिएको छ। उत्तरी इराकमा इरानी ड्रोनको नफुटेको विस्फोटक निष्क्रिय पार्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु भएको र अर्का एक घाइते भएको अमेरिकी स्रोतहरूले बताएका छन्। यससँगै युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १७ पुगेको उल्लेख गरिएको छ।
यसैबीच यमनका हुथी विद्रोहीले लाल सागरमा दुई साउदी तेल ट्याङ्करमाथि मिसाइल तथा ड्रोन आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ। सुरक्षा जोखिम बढेपछि धेरै व्यापारिक जहाजहरूले आफ्नो समुद्री मार्ग परिवर्तन गर्न थालेका छन्।
अमेरिकी सिनेटले युद्ध रोक्न माग गरिएको प्रस्ताव अस्वीकृत गरेको छ भने इरानसँगको सैन्य अभियानका लागि ९५ अर्ब अमेरिकी डलरको अतिरिक्त रक्षा बजेट पनि स्वीकृत भएको जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    सुनसरी घटनाको प्रभाव देशभर, विराटनगरदेखि काठमाडौंसम्म विरोध प्रदर्शन

    Read more