७ साउन , काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने तयारीमा छन्।
उच्च स्रोतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा लामिछाने नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ भ्रमणमा जाने कार्यक्रम तय भएको छ। हाललाई साउनको अन्तिम साता भ्रमणको मिति तय गरिएको भए पनि आवश्यकताअनुसार त्यसमा हेरफेर हुन सक्ने जनाइएको छ।
पार्टीका एक उच्च नेताका अनुसार भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सभापति लामिछानेको भेट गराउने वातावरण बनाउन चिनियाँ पक्षसँग समन्वय भइरहेको छ। ‘राष्ट्रपति सीसँग भेटका लागि चिनियाँ पक्षसँग समन्वय भइरहेको छ,’ ती नेताले बताएका छन्।
भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध, राजनीतिक सहकार्य, आपसी हितका विषय तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। प्रतिनिधिमण्डलमा रास्वपाका अन्य नेताहरू पनि सहभागी हुने जनाइएको छ।
यद्यपि, भ्रमणको अन्तिम मिति तथा प्रतिनिधिमण्डलका सदस्यहरूको नाम भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।


















