मधेशसहित तीन प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान, विपद् प्राधिकरणको सतर्कता अपिल

२७ असार , काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले आइतबार र सोमबार देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्राधिकरणले शनिबार जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा असार २८ र २९ गते कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। साथै पहाडी क्षेत्रका केही स्थानमा अति भारी वर्षा पनि हुन सक्ने जनाइएको छ।
प्राधिकरणले भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, भू–कटान, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले नदी, खोला र पहिरो प्रभावित क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।
त्यस्तै, तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिँदै जोखिमयुक्त राजमार्गमा आवश्यक उपकरण तयारी अवस्थामा राख्न र उद्धार तथा राहतका लागि समन्वय गर्न अनुरोध गरिएको छ।
प्राधिकरणले वर्षा र विपद्सम्बन्धी अद्यावधिक जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सूचनाहरू नियमित रूपमा पछ्याउन पनि आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more