उपराष्ट्रपति यादव: शिक्षा अनुसन्धान र उद्यमशीलतामा केन्द्रित हुनुपर्छ

१४ असार , काठमाडौं — उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वर्तमान समयको आवश्यकता अनुसार शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतामा केन्द्रित गर्नुपर्ने बताएका छन्।
मदन भण्डारी मेमोरियल कलेजको २५औँ वार्षिकोत्सव (रजत वर्ष) का अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सूचना प्रविधिको तीव्र विकास भइरहेको सन्दर्भमा विश्वविद्यालय तथा कलेजहरूले अनुसन्धान र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
उपराष्ट्रपति यादवले आजका युवा केवल रोजगारी खोज्ने नभई आफ्नो प्रतिभा, नवाचार र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्न सक्ने क्षमतावान हुनुपर्ने धारणा व्यक्त गरे।
उनले प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल नवाचार र विश्वव्यापी प्रतिस्पर्धाको युगमा आधारभूत मूल्य, नैतिकता र गुणस्तरीय शिक्षासँग जोडिएर अघि बढ्नुपर्ने बताए।
शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यममा सीमित नराखी जीवनोपयोगी सीप, व्यावहारिक ज्ञान र नैतिक मूल्यमा आधारित बनाउनुपर्ने उल्लेख गर्दै उनले समावेशी शिक्षाको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
उपराष्ट्रपति यादवले ग्रामीण, पिछडिएका, दलित, जनजाति, मधेसी, थारू तथा मुस्लिम समुदायका बालबालिकाले समान शैक्षिक अवसर पाउने वातावरण सुनिश्चित गर्न पनि आग्रह गरे।
कार्यक्रममा कलेजका उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो

  • सम्बन्धित समाचारहरु

    संयुक्त हिन्दु मोर्चाले सरकारसमक्ष १३ बुँदे मागपत्र बुझायो

    Read more

    जनकपुरधाममा आन्दोलनरत पक्षसँग सरकारको दोस्रो चरणको वार्ता सुरु

    Read more