२७ जेठ, नई दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको इतिहासमा सबैभन्दा लामो समय सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनेका छन्।
बुधबार आफ्नो कार्यकालको ४ हजार ३९९ दिन पूरा गर्दै मोदीले भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू को ४ हजार ३९८ दिनको रेकर्ड तोडेका हुन्।
सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री बनेका मोदीले लगातार तेस्रो कार्यकालसमेत सम्हालिरहेका छन्। उनी भारतमा पूर्ण बहुमतसहित दुई कार्यकाल पूरा गरी तेस्रो पटक प्रधानमन्त्री बन्ने केही सीमित नेतामध्ये एक हुन्।
यस उपलब्धिसँगै मोदी निर्वाचित प्रधानमन्त्रीका रूपमा सबैभन्दा लामो समय पदमा रहने भारतीय नेता बनेका छन्। यसअघि उक्त कीर्तिमान नेहरूको नाममा रहेको थियो।
मोदीको नेतृत्वमा भारतले पूर्वाधार विकास, डिजिटल प्रविधि, अन्तरिक्ष अनुसन्धान, आर्थिक सुधार तथा अन्तर्राष्ट्रिय कूटनीतिमा उल्लेखनीय प्रगति गरेको दाबी सत्तारुढ पक्षले गर्दै आएको छ। यद्यपि, बेरोजगारी, महँगी र सामाजिक ध्रुवीकरणजस्ता विषयमा विपक्षी दलहरूले सरकारको आलोचना गर्दै आएका छन्।


















