एमाले रूपान्तरणका लागि शंकर पोखरेलले अघि सारे ७ सूत्र

२३ जेठ, काठमाडौ । — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई समयानुकूल रूपान्तरण गर्न सात आधारभूत सूत्र प्रस्तुत गरेका छन्। उनले संगठनात्मक सुधार, लोकतान्त्रिक अभ्यास र जनतासँगको सम्बन्ध विस्तारलाई पार्टी रूपान्तरणको प्रमुख आधारका रूपमा औँल्याएका हुन्।
पोखरेलका अनुसार पार्टी रूपान्तरणको पहिलो शर्त गम्भीर आत्मसमीक्षा र परिवर्तनप्रतिको दृढ सङ्कल्प हो। उनले कमिटी प्रणालीको पुनर्स्थापना तथा सुदृढीकरण, सामूहिक नेतृत्व प्रणालीको विकास तथा वर्गसंघर्ष र राजनीतिक संघर्षमा सक्रिय सहभागितालाई पनि आवश्यक आधारका रूपमा प्रस्तुत गरेका छन्।
उनले नेता तथा कार्यकर्ताले जनपक्षीय जीवनशैली, व्यवहार र आचरण अपनाउनुपर्नेमा जोड दिँदै पार्टीभित्र लोकतान्त्रिक मूल्य–मान्यताको अभ्यासलाई थप सुदृढ बनाउनुपर्ने बताए। नीति र नेतृत्वलाई संस्थागत ढंगले स्थापित गर्दै विधि र प्रक्रियाअनुसार पार्टी सञ्चालन हुनुपर्ने उनको भनाइ छ।
महासचिव पोखरेलले जनतासँगको बलियो सम्बन्ध, संघर्षशील राजनीतिक संस्कार र लोकतान्त्रिक अभ्यासलाई पार्टी सुधारको मुख्य आधारका रूपमा व्याख्या गरेका छन्। उनले एकता, अनुशासन र विधिसम्मत प्रणालीको पालना गर्दै संस्थागत प्रक्रियाबाट मात्रै पार्टीका लक्ष्य र उद्देश्य हासिल गर्न सकिने उल्लेख गरे।
एमालेभित्र संगठन सुदृढीकरण र जनआधार विस्तारबारे बहस चलिरहेका बेला पोखरेलले अघि सारेका यी सात सूत्रलाई पार्टी सुधार र रूपान्तरणको नयाँ मार्गचित्रका रूपमा हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    निर्दलीय स्थानीय निर्वाचनको सिफारिस स्वागतयोग्य : युवा नेता प्रवेश चौधरी —

    Read more

    संघीयता सुदृढीकरणको मागसहित जनमत पार्टी सडकमा उत्रिने

    Read more