जेठ २८ , जनकपुरधाम।नेकपा (एमाले)का मधेश प्रदेश सभा सदस्य दिपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । धनुषास्थित औरही गाउँपालिकाको अस्पताल निर्माणमा करोडौँ अनिमितता गरेको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
०७८ मा अस्पताल निर्माणको लागि २४ करोड लागत अनुमान गरी बोलपत्र आह्वाना गरिएकोमा प्रतिष्ठा धुलिखेल एक्सिस एसियन जेभीले १२ करोड ३५ लाख कबोलसहित पेश गरे पनि सांसद ठाकुर तत्कालीन प्रबन्धक निर्देशक रहेको लुम्बिनी डि एण्ड एन जे.भी तथा बि एण्ड एन बिल्डर्स प्रालिले १९ करोड १४ लाखसहित पेश गरेर मिलेमतोमा ठेक्का हात पारेको अख्तियारले जनाएको छ । सो क्रममा ६ करोड ७९ लाखभन्दा बढी रकम अनियमितता भएको आरोप पत्रमा उल्लेख छ ।
गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रमहदेव यादव, तत्कालीन उपाध्यक्ष मिरा देवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुरसहित विभिन्न कर्मचारीलाई समेत प्रतिवादी बनाइएको छ । प्रतिवादीहरुले भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा १७ बमोजिमको कसुर गरेको ठहर गर्दै जनही ६ करोड ७९ लाख १२ हजार बिगो मागदावी गरिएको छ ।
संसदीय दलका उपनेता समेत रहेका ठाकुरविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै उनको प्रदेशसभा सदस्य पद स्वतः निलम्बनमा परेको छ ।

















