१२ बैशाख , जनकपुरधाम। नेपाल रेडक्रस सोसाइटी को केन्द्रीय तदर्थ समितिले धनुषा जिल्ला शाखासँग सदस्यता व्यवस्थापनसम्बन्धी गम्भीर त्रुटि देखिएको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
केन्द्रीय कार्यालयले धनुषा शाखाका सभापति नरेशप्रसाद सिंहलाई पठाएको पत्रमा सदस्यता विस्तार अभियानअन्तर्गत तोकिएको प्रक्रिया पालना नगरेको उल्लेख गरिएको छ। सोसाइटीको विधान २०२० (अठारौं संशोधन २०८२) तथा मिति २०८२ फागुन २४ गतेको केन्द्रीय निर्णयअनुसार फागुन २५ देखि चैत २४ गतेसम्म एकमहिने सदस्यता विस्तार अभियान सञ्चालन गरिएको थियो।
तर, धनुषा शाखाबाट सदस्यता वितरण नगरेको, सदस्यताको विवरण अद्यावधिक गरी केन्द्रीय कार्यालयमा नपठाएको, तथा सदस्यता शुल्क बैंकमा दाखिला नगरिएको जस्ता गम्भीर लापरवाही देखिएको पत्रमा उल्लेख छ। केन्द्रीय कार्यालयले सो कार्यमा सहजीकरणका लागि कर्मचारी खटाएको र पटक–पटक टेलिफोनमार्फत अनुरोध गरिए पनि अपेक्षित प्रगति नभएको जनाएको छ।
केन्द्रीय तदर्थ समितिको मिति २०८२ चैत १५ गते बसेको ३५०औँ बैठकले उक्त विषयलाई गम्भीर रूपमा लिँदै वैधानिक दायित्व पूरा नगर्नुको कारण स्पष्ट पार्न तीन दिनको समयसीमा दिएको हो। साथै, चित्तबुझ्दो स्पष्टीकरण नआएमा जिल्ला शाखा समिति विघटनसम्मको कारबाही अघि बढाउन सकिने चेतावनी समेत दिइएको छ। यस घटनाले धनुषा रेडक्रस शाखाको कार्यसम्पादनमाथि प्रश्न उठाएको छ भने संगठनभित्र पारदर्शिता र उत्तरदायित्वको विषय पुनः चर्चामा आएको छ।


















