२७ चैत, काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा निगमलाई ठूलो घाटा व्यहोर्नु परेकाले नयाँ मूल्य समायोजन गरिएको जनाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल तथा मट्टितेलमा २५ रुपैयाँले मूल्य बढाइएको छ। यससँगै पेट्रोलको मूल्य अब विभिन्न क्षेत्रमा प्रतिलिटर २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ। त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।
यसैगरी, एलपी ग्यासको मूल्यमा समेत १०० रुपैयाँ वृद्धि गरिएको छ। साविक १९१० रुपैयाँ रहेको ग्यासको भाउ अब बढेर २०१० रुपैयाँ पुगेको छ, जसअनुसार उपभोक्ताले नयाँ मूल्य तिर्नुपर्ने भएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिका कारण आन्तरिक बजारमा पनि मूल्य समायोजन गर्न बाध्य भएको स्पष्ट पारेको छ। मूल्यवृद्धिसँगै उपभोक्तामाथि थप आर्थिक भार पर्ने देखिएको छ।



















