१५ चैत , जनकपुरधाम। मधेस प्रदेश सरकारकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी ले एसइई परीक्षा मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन कडा व्यवस्था लागू गरिने बताएकी छन् ।
शिक्षा तथा संस्कृति मन्त्रालय मधेस प्रदेश को आयोजनामा जनकपुरधाममा सम्पन्न प्रदेशस्तरीय समन्वय बैठकमा मन्त्री तिवारीले परीक्षा सञ्चालनमा कुनै पनि किसिमको लापरबाही सह्य नहुने स्पष्ट पारिन् । उनले परीक्षा विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले सबै निकाय जिम्मेवार र सक्रिय बन्नुपर्नेमा जोड दिइन् ।
मन्त्री तिवारीका अनुसार परीक्षा केन्द्रभित्र मोबाइल फोन लैजान पूर्ण रूपमा निषेध गरिएको छ । यदि कुनै परीक्षार्थीले मोबाइल साथमा ल्याएको पाइएमा उक्त मोबाइल जफत गरी नष्ट गरिने चेतावनी दिइएको छ । उनले विद्यार्थी तथा अभिभावकलाई नियमको पूर्ण पालना गर्न आग्रहसमेत गरिन् ।
परीक्षालाई शान्त, सुरक्षित र मर्यादित बनाउन केन्द्रहरूको सुरक्षा व्यवस्थापन, प्रश्नपत्रको गोपनीयता, नक्कल नियन्त्रण तथा अनुगमनलाई प्रभावकारी बनाइने जनाइएको छ । यसका लागि जिल्ला प्रशासन, सुरक्षा निकाय तथा शिक्षा सम्बन्धी निकायबीच समन्वय मजबुत बनाइने मन्त्रालयले जनाएको छ ।

















