२३ फागुन, काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै मोदीले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले लोकतान्त्रिक अधिकार उत्साहपूर्वक प्रयोग गरेको देख्दा खुशी लागेको बताएका छन्। उनले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक उपलब्धि र गर्वको क्षण भएको उल्लेख गरेका छन्।
मोदीले भारत नेपालका लागि नजिकको मित्र र छिमेकी भएको स्मरण गर्दै आगामी दिनमा पनि नेपालका जनता र नयाँ सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिका लक्ष्य हासिल गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्।
भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास पनि व्यक्त गरिएको छ।
















