२७ माघ, जनकपुरधाम। जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) आज माघ २७ गते मंगलबार जनकपुरधाम आउने भएका छन्। उनको आगमनलाई आगामी प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा महत्वपूर्ण राजनीतिक गतिविधिका रूपमा हेरिएको छ।
धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि रास्वपाका उम्मेदवार मनीष झाले बालेनको जनकपुरधाम भ्रमणबारे जानकारी दिएका हुन्। उनका अनुसार बालेनको उपस्थितिले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद स्थापना गर्न र पार्टीको एजेण्डा प्रभावकारी रूपमा राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।
भ्रमणका क्रममा बालेनले रोड शो गर्नुका साथै नगराइन नगरपालिकाका मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। उनले स्थानीय नागरिक, युवा तथा सरोकारवालाहरूसँग भेट गरी समसामयिक राजनीतिक मुद्दा, सुशासन, पारदर्शिता र विकास निर्माणका विषयमा छलफल गर्ने जनाइएको छ।
यसैक्रममा बालेन शाहद्वारा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनीष झालाई सहयोग तथा समर्थन गर्ने कार्यक्रमसमेत राखिएको छ।
आजको संभावित कार्यक्रम तालिका:
📍 पिडारी चौक – दिउँसो ३:०० बजे
📍 मिल्स एरिया – ३:१० बजे
📍 भानु चौक / जनक चौक – ३:१५ बजे
📍 मुरली चौक–देपुरा–रुपैठा
📍 नगराइन – ३:४० बजे
📍 फुलगामा – ४:०० बजे
📍 तुलसियाही – ४:२० बजे
📍 मठियानी – जलेश्वर
कार्यक्रममार्फत रास्वपाले क्षेत्र नम्बर–३ मा चुनावी माहोल तताउने र मतदातालाई प्रत्यक्ष रूपमा आकर्षित गर्ने रणनीति लिएको बताइएको छ।

















