सतलोक आश्रमले ऐलानी जग्गा हड्पेको आरोपपछि विवाद, जनकपुर–ढल्केवर सडक अवरुद्ध

पुस २६, धनुषा। धनुषाको मिथिला नगरपालिका वडा नं. २ अन्तर्गत नक्टाझिज सुग्जोरमा रहेको सतलोक आश्रमले अनधिकृत रूपमा ऐलानी जग्गा हड्पेको आरोपपछि स्थानीय बासिन्दा र आश्रम पक्षबीच विवाद चुलिएको छ।
स्थानीयका अनुसार ऐलानी जग्गा खाली गराउन पुगेका बासिन्दा र आश्रमभित्र रहेका व्यक्तिबीच भनाभनपछि झडपको अवस्था सिर्जना भएको हो। विवाद उग्र बनेपछि आक्रोशित स्थानीयले जनकपुर–ढल्केवर सडकखण्डको राघोपुर पुल नजिक सडक अवरुद्ध गर्दै नाराबाजी गरिरहेका छन्।
झडपका क्रममा एक जना स्थानीय घाइते भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। घाइतेको अवस्था सामान्य रहेको र उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।
वर्षौंदेखि सतलोक आश्रम नामक संस्था सञ्चालनमा रहँदै आएको छ। आश्रमले समय–समयमा भण्डारा तथा विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गर्दै आएको स्थानीय बताउँछन्। यद्यपि आश्रमसँग सम्बन्धित विवाद पटक–पटक सतहमा आउने गरेको छ।
उल्लेखनीय छ, सतलोक आश्रमका संस्थापक भनिएका रामपाल भारतमा देशद्रोहसम्बन्धी मुद्दामा हाल जेलमा रहेका छन्। उनका अनुयायी र स्थानीय बासिन्दाबीच पछिल्लो विवादका कारण क्षेत्रमा धार्मिक तनावको अवस्था सिर्जना भएको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more