विवाह पञ्चमीलाई लक्षित गर्दै धनुषामा चालक–व्यवसायीलाई ट्राफिक सचेतना कार्यक्रम

मंसिर ५,जनकपुरधाम, धनुषा —आगामी विवाह पञ्चमी महामहोत्सवलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले संयुक्त रूपमा एक महत्वपूर्ण ट्राफिक सचेतना तथा व्यवहार–शिष्टाचार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा बस, वीइङगर, टेम्पो, इ–रिक्सा लगायतका विभिन्न यातायात व्यवसायी तथा चालक–सहचालक गरी ७५ जना सहभागी रहेका थिए। सहभागीहरूलाई दर्शनार्थी तथा भक्तजनलाई सुरक्षित, सम्मानजनक र सहज सेवा प्रदान गर्ने तरिका, शिष्टाचार, भाडादर, ट्राफिक नियम, भीड व्यवस्थापन तथा आपतकालीन स्थिति सामना गर्ने सीपसम्बन्धी प्रशिक्षण दिइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्री प्रेम प्रसाद लुइटेल रहेका थिए। उनले विवाह पञ्चमी समयमा जनकपुरधाममा दैनिक लाखौं दर्शनार्थी तथा सुरक्षाकर्मीको आवागमन हुने हुँदा यातायात व्यवस्थापन अत्यधिक संवेदनशील हुने बताउँदै चालक–सहचालक तथा व्यवसायीहरूलाई “सेवा, सुरक्षा र मर्यादा” को भावनासहित दायित्व निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा जिल्ला सुरक्षा समितिका सम्पूर्ण पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। वक्ताहरूले विवाह पञ्चमी महोत्सवलाई भव्य, सभ्य र व्यवस्थित बनाउन सबै निकायबीच समन्वय अत्यावश्यक हुने उल्लेख गर्दै यातायात व्यवसायीहरूलाई ट्राफिक नियम पालनामा कठोर र यात्रु सेवामा विनम्र हुन निर्देश दिए।

कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख प्र.नि. सूर्य बहादुर शाहीले गरेका थिए। उनले विवाह पञ्चमी अवधिमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुने भन्दै चालक तथा सहचालकहरूलाई नियमपालन, यात्रु सुरक्षा, दुर्घटना न्यूनीकरण तथा अनुशासन कायम गर्ने विषयमा विस्तृत जानकारी गराए।

उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएपछि सहभागीहरूले यस्ता गतिविधिले दुर्घटना रोकथाम, भीड व्यवस्थापन र दर्शनार्थीलाई मनोबलका साथ सेवा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more