विवाहपञ्चमी महोत्सवको दोस्रो दिन जनकपुरधाममा भव्य फूलबारी लीला सम्पन्न

मंसिर ५,जनकपुरधाम। साताव्यापी सीताराम विवाहपञ्चमी महोत्सव–२०८२ अन्तर्गतको दोस्रो दिन आज जनकपुरधाममा धार्मिक आस्था, संस्कृति र परम्पराले भरिएको फूलबारी लीला भव्य समारोहका साथ सम्पन्न भएको छ।

मिथिलाको ऐतिहासिक पुष्पबाटिका (फूलबारी)–जहाँ त्रेता युगमा भगवान् राम र सीताको पहिलो भेट भएको उल्लेख छ–त्यसै प्रसंगलाई पुनःजीवित गर्दै आज जनकपुरधामका बाल–कलाकारहरू राम र लक्ष्मणको स्वरूपमा सजिएर फूलबारी घुमाइएका थिए। यस अवसरमा विवाहमण्डप परिसरमा परम्परागत भक्तिमय गीत, जय–घोष र सांस्कृतिक प्रस्तुतिले वातावरण अझै आध्यात्मिक बनेको थियो।

आज साँझ जानकी मन्दिरको उत्तरपट्टि रहेको विवाहमण्डपस्थित फूलबारीमा राम–लक्ष्मण अवतरण हुँदा स्थानीय, साधुसन्त र दर्शनार्थीहरूको असाध्यै भीड लाग्यो। फूलबारी प्रसंगका गीत, भजन र सांस्कृतिक धुनमा सहभागीहरूले ऐतिहासिक क्षण पुनःअनुभूति गरे।
पहिलो दिन, बिहीबार, राम–लक्ष्मणलाई जानकी मन्दिर परिसरमा नगरदर्शन गराइएको थियो।

महोत्सव आयोजन समितिका अनुसार भोलि शनिबार प्रसिद्ध धनुषयज्ञ समारोह आयोजना गरिनेछ, जसले राम–सीता विवाहका चरणहरूलाई क्रमिक रूपले पुनःअभिनीत गर्ने परम्परा छ।

त्रेता युगमा सम्पन्न मर्यादा पुरुषोत्तम श्रीराम र आदर्श नारी जानकी सीताको दिव्य विवाहको स्मरणमा प्रत्येक वर्ष अत्यन्त धुमधामका साथ जनकपुरधाममा मनाइने विवाहपञ्चमी यसपालि मंसिर ४ गतेदेखि सुरु भएको हो। सम्पूर्ण धार्मिक अनुष्ठान, शोभायात्रा, सांस्कृतिक झाँकी, लीला तथा विशेष पूजासहित यस वर्षको महोत्सव एक सातासम्म निरन्तर सञ्चालन हुने जनाइएको छ।

जनकपुरधाममा चलिरहेको विवाहपञ्चमी महोत्सवले भारतीय तथा नेपाली पर्यटक, भक्तजन, साधुसन्त तथा स्थानीय समुदायलाई एकै स्थानमा जोड्दै मिथिलाको सांस्कृतिक पहिचान झनै उजागर गरेको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more