मोडर्न नेपाल स्कुलमा भव्य मिथिला फुड फेस्टिवल, विद्यार्थीका परिकारले मोहित अतिथि

मंसिर ५, जनकपुरधाम। जनकपुरधामस्थित मोडर्न नेपाल इङ्ग्लिस मेडियम बोर्डिङ स्कुलमा ‘मिथिलान्चल मिठास, संस्कृतिको पहिचान’ भन्ने नारासहित भव्य फुड फेस्टिभल–२०८२ सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजना भएको उक्त कार्यक्रमले मिथिला क्षेत्रको परम्परा, संस्कार र पहिचानलाई विद्यार्थीमार्फत पुनर्जीवित गर्दै शैक्षिक गतिविधिलाई थप रचनात्मक बनाएको विद्यालयले जनाएको छ।

कार्यक्रममा १ कक्षा देखि १० कक्षासम्मका विद्यार्थीहरूलाई पाँच अलग–अलग समूह— मिथिलान्चल स्वाद, मिथिला भोजन, मधुर मिथिला, अन्नपूर्ण किचेन हाउस र संस्कृति भोजनालय—मा विभाजन गरिएको थियो। प्रत्येक समूहले मिथिलाको ऐतिहासिक, सांस्कृतिक र धार्मिक पृष्ठभूमिलाई झल्काउने विभिन्न परिकार तयार गर्दै विद्यालय परिसरलाई रंगीन बनाएका थिए।

विद्यार्थीहरूले विभिन्न तरकारी , माछ–भात, विभिन्न प्रकारको खिर, तरुवा तथा मिथिलाको मौलिक ‘देशी व्यञ्जन’ प्रस्तुत गरेका थिए। परिकारसँगै विद्यार्थीहरूले स्टल सजावट,  सांस्कृतिक प्रतीक तथा मिथिलाका विशिष्टता प्रदर्शन गरे।

कार्यक्रमको अवलोकनका लागि जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोसन दास तथा जनकपुरधाम उप–महानगरपालिका शिक्षा शाखा अधिकृत अञ्जु पाण्डे उपस्थित भएका थिए। दुवै विशिष्ट अतिथिहरूले विद्यार्थीहरूको प्रस्तुति तथा सांस्कृतिक उत्साहको प्रशंसा गर्दै यस्तो गतिविधिले बालबालिकामा कला, संस्कार, आत्मविश्वास र व्यावहारिक सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका थिए।

महन्थ राम रोसन दासले भने, “मिथिलाको पहिचान परिकार र परम्परामा बस्छ। विद्यालयले यसरी संस्कृति र शिक्षालाई जोडेर काम गर्नु अत्यन्त सराहनीय छ।”
शाखा अधिकृत अञ्जु पाण्डेले विद्यार्थीहरूको सिर्जनाशीलता र समूहगत सहकार्यको प्रशंसा गर्दै नियमित रूपमा यस्ता कार्यक्रमले शिक्षण क्षेत्रलाई नवीन तथा प्रभावकारी बनाउने बताइन्।

विद्यालयका शिक्षक तथा विद्यार्थीको  उल्लेखनीय उपस्थितिमा सम्पन्न फुड फेस्टिभलले विद्यार्थीहरूमा उत्साह, प्रतिस्पर्धा र सांस्कृतिक गर्व जागृत गराएको विद्यालय सञ्चालक दिपक ठाकुरले  जनाएका छन।

कार्यक्रम अन्त्यमा उत्कृष्ट व्यवस्थापन, स्वाद, प्रस्तुति र सांस्कृतिक अभिव्यक्तिका आधारमा विभिन्न समूह तथा विद्यार्थीहरूलाई विद्यालयले सम्मान तथा प्रोत्साहन गर्ने जनाएकाछन।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more