असोज १७, पेशावर, पाकिस्तान । पाकिस्तानको पेशावरमा भएको एक भीषण बम विस्फोटमा नौ जनाको ज्यान गएको छ भने कम्तीमा चार सुरक्षाकर्मी घाइते भएका छन्। एएनआईले डॉनको समाचार उद्धृत गर्दै जनाएको अनुसार विस्फोट बिहीबार भएको हो।
पेशावर क्यापिटल सिटीका प्रहरी अधिकारी मियाँ सईदले घटनाको पुष्टि गर्दै विस्फोट खासगरी प्रहरी अधिकारीहरूलाई लक्षित गरिएको जानकारी दिए। उनका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त विस्फोटक पदार्थ प्रहरीको मोबाइल भ्यान गुज्रिने मार्गमा पूर्वनियोजित रूपमा राखिएको पाइएको छ।
सीसीपीओ सईदका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ र तिनलाई तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ।
घटना लगत्तै ठूलो संख्यामा सुरक्षा बल घटनास्थलमा परिचालित भएका छन्। सुरक्षाकर्मीहरूले क्षेत्रलाई घेराबन्दी गरी थप अनुसन्धान अघि बढाएका छन्। यस बम विस्फोटका कारण पुनः पेशावर शहर आतंकित बनेको छ। स्थानीय नागरिकमा त्रास फैलिएको छ भने सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ।




















