जनकपुरधाममा अतिक्रमणमाथि सिधा प्रहार: गुठी जग्गा खाली गराइने

११ बैशाख ,जनकपुरधाम। जनकपुरधाम स्थित गुठी संस्थान अन्तर्गतका जग्गाहरूको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले अतिक्रमण हटाउने लगायतका ८ महत्वपूर्ण निर्णय पारित गरिएको छ।
मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो को नेतृत्वमा बसेको उच्चस्तरीय बैठकले उक्त निर्णयहरूको अनुमोदन गरेको हो।
बैठकले गुठी जग्गामा भएको अतिक्रमण हटाउने, स्थानीय तहसँग समन्वय गरी फुटपाथ तथा सार्वजनिक स्थानमा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउने निर्णय गरेको छ। साथै, मधेस भवनको सुरक्षा तथा सरसफाइ व्यवस्थापनलाई थप सुदृढ बनाउने र कर्मचारी आवास क्षेत्रमा अनधिकृत रूपमा बसोबास गरिरहेका व्यक्तिहरूलाई हटाउने प्रस्ताव पनि पारित गरिएको छ।
त्यसैगरी, नेपाल–भारत सीमा क्षेत्रको सुरक्षालाई व्यवस्थित बनाउन सुरक्षा निकायबीच समन्वय बढाउने विषयलाई प्राथमिकतामा राखिएको छ। नाका क्षेत्रमा निगरानी र समन्वय मजबुत बनाइने जनाइएको छ।
धार्मिक महत्वलाई मध्यनजर गर्दै जनकपुरधामको परिक्रमा क्षेत्रभित्र मदिरा बिक्री तथा सेवनमा पूर्ण निषेध गर्ने, सार्वजनिक स्थानमा डिजे बाजा बजाउन रोक लगाउने तथा ध्वनि प्रदूषण नियन्त्रणमा कडाइ गर्ने निर्णय समेत गरिएको छ।
बैठकमा सहभागी सरोकारवालाहरूले निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका छन्। तर विगतमा जस्तै कार्यान्वयन स्थानीय स्तरमै अल्झिने सम्भावनाप्रति चिन्ता पनि व्यक्त गरिएको छ।
उक्त बैठकमा सुरक्षा निकाय, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, गुठी संस्थान तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अतिक्रमण, सीमा सुरक्षा, लागुऔषध दुर्व्यसन तथा सार्वजनिक अनुशासनसम्बन्धी समस्याहरू समाधान गर्न कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
साथै, संघीय संसद, प्रदेश सरकार, स्थानीय तह, गुठी संस्थान, सुरक्षा निकाय तथा नागरिक समाजलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरिएको छ। निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि जनस्तरबाट दबाब र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।

  • सम्बन्धित समाचारहरु

    सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    Read more

    जलेश्वरमा मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

    Read more