११ बैशाख , काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाह ले काठमाडौँ उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका सुकुम्बासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्। हरेक वर्ष दोहोरिने बाढीका कारण हजारौँ नागरिकले ज्यान जोगाउन घरबार छोड्नुपर्ने अवस्थालाई अन्त्य गर्न सरकार गम्भीर भएको उनले उल्लेख गरेका छन्।
सार्वजनिक अभिव्यक्तिमार्फत उनले वर्षौंदेखि दोहोरिँदै आएको यो समस्यालाई अब थाती नराखी दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्। जोखिमपूर्ण क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु उनीहरूको मौलिक अधिकार भएको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले नदी तथा खोलाकिनारमा अव्यवस्थित बसोबासका कारण ढल निकास प्रणाली निर्माणमा समेत अवरोध भइरहेको उल्लेख गर्दै यसले काठमाडौँ उपत्यकाको वातावरणीय अवस्था थप जटिल बनाएको बताएका छन्। यस्तो अवस्थामा थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रलगायतका बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय ढंगले स्थानान्तरण गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन्।
उनले आफूले चुनावी प्रतिबद्धता र सरकारका प्राथमिकतामा सुकुम्बासी व्यवस्थापनलाई महत्व दिइएको स्मरण गराउँदै वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउने काम गरिने बताए। देशभर रहेका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूरा गरी सकेसम्म चाँडो जग्गा वितरण गर्ने योजना रहेको पनि उनले स्पष्ट पारे।
प्रधानमन्त्री शाहका अनुसार वर्षौँदेखि जटिल बन्दै आएको सुकुम्बासी समस्या समाधानका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको छ र यसका लागि आन्तरिक तयारी भइरहेको छ।



















