भ्रामक सूचना नफैलाउन नेपाली सेनाको अपिल, कानुनी कारबाहीको चेतावनी

११ बैशाख , काठमाडौ ।  नेपाली सेना ले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा फैलिरहेका भ्रामक र आधारहीन सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सेनाले यस्ता गलत सूचना नफैलाउन आम नागरिकलाई आग्रह गर्दै दोषीमाथि कानुनी कारबाही हुने चेतावनी दिएको छ।
रक्षा मन्त्रालय अन्तर्गत जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार जारी गरेको प्रेस नोटमा पछिल्लो समय नेपाली सेना र त्यसको नेतृत्वबारे तथ्यहीन सामग्री प्रसारण भइरहेको उल्लेख गरिएको छ। यस्ता कपोलकल्पित सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गर्ने भन्दै त्यस्ता गतिविधि नगर्न/नगराउन अनुरोध गरिएको छ।
सेनाले यस्ता उच्छृंखल तथा अराजक गतिविधिहरूको नियमित निगरानी भइरहेको जनाउँदै संलग्न व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेको छ।
त्यस्तै, आम जनतालाई यस्ता आधारहीन र द्वेषपूर्ण समाचार तथा टिप्पणीहरूमा विश्वास नगर्न आग्रह गरिएको छ। आधिकारिक जानकारीका लागि सेनाद्वारा जारी प्रेस विज्ञप्ति, सामाजिक सञ्जाल र वेबसाइटमा प्रकाशित सूचनामात्रै अनुसरण गर्न पनि अनुरोध गरिएको छ।
सेनाले विश्वसनीय सूचना प्रवाहका लागि सम्बन्धित निकायसँग समन्वय गरेर मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यमलाई समेत आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    निजामती सेवा विधेयकको मस्यौदा सार्वजनिक, कर्मचारी ट्रेड युनियन खारेज गर्ने प्रस्ताव

    Read more

    नदीकिनारका सुकुम्बासीलाई सुरक्षित स्थानान्तरण गरिने, स्थायी समाधानतर्फ सरकार अग्रसर : प्रधानमन्त्री बालेन्द्र शाह

    Read more