असोज १५, बिरगंज । पर्साको बिरगंजमा दशैँ मेलाको क्रममा दुई समूहबीच चक्कु प्रहार भएको घटनामा एक युवकको ज्यान गएको छ। प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार राति करिब १२ देखि १ बजेको बीचमा वीरगञ्ज–गितामन्दिर रोडमा दुई युवा समूहबीच वादविवाद हुँदै झगडा चर्किएर चक्कु प्रहार भएको थियो।
घटनामा गम्भीर घाइते भएका ‘गोल्डेन’ नामका युवकको शरीरका विभिन्न भागमा चक्कु प्रहार हुँदा अत्यधिक रक्तस्राव भएको थियो। उनलाई उद्धार गरी नारायणी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले घटनास्थललाई सिल गरी थप अनुसन्धान अघि बढाएको छ। हालसम्म घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको र अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।यता स्थानीयवासीले दशैँ मेलाको समयमा प्रहरीले सुरक्षामा पर्याप्त ध्यान नदिएको भन्दै असन्तुष्टि जनाएका छन्। घटनापछि उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
















