असोज १५, जनकपुरधाम। मौसम पूर्वानुमान महाशाखाले आगामी असोज १९ गते (त्रयोदशी) मधेस प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गर्दै ‘रेड एलर्ट’ जारी गरेको छ।
महाशाखाले असोज १७ देखि १९ गते (एकादशीदेखि त्रयोदशी) सम्मको मौसम विवरण सार्वजनिक गर्दै चेतावनी जारी गरेको हो। जारी बुलेटिनअनुसार त्रयोदशीका दिन मधेस प्रदेशका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको जोखिम अत्यधिक रहनेछ। ती स्थानहरू पनि रेड एलर्टमा राखिएका छन्।
महाशाखाले भनेको छ, “असोज १९ गते एक–दुई स्थानमा अति भारी वर्षा पर्ने सम्भावना रहेको छ। त्यसैले सम्बन्धित निकायलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।”
त्यस दिन पाँचै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा पर्ने अनुमान छ भने अन्य प्रदेशहरूमा पनि छिटफुट रूपमा हल्का पानी पर्न सक्ने सम्भावना बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार असोज १७ गते (एकादशी) बाट नै नेपालमा पानी पार्ने मनसुनी वायु प्रवेश गर्नेछ। यसले विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय पार्ने देखिएको छ।
यस्तो वर्षाले मधेस र तराई क्षेत्रमा बाढी–पहिरो, जलमग्नता र यातायातमा अवरोध जस्ता जोखिम बढाउन सक्ने भएकाले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, नदी–नालाको किनारमा सतर्कता अपनाउन तथा स्थानीय निकायले जारी गर्ने निर्देशन पालना गर्न महाशाखाले आग्रह गरेको छ।















