असोज १४, जनकपुरधाम। नेपालीहरूको महान् पर्व बडादशैं–को अवसरमा नेपाल शिक्षक महासङ्घ जिल्ला समिति धनुषाले शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई शुभकामना व्यक्त गरेको छ ।
महासङ्घका अध्यक्ष सुरेश कुमार यादवले सार्वजनिक विज्ञप्तिमा धनुषाका विभिन्न पालिकामा दशैंअघि तलब, भत्ता र चाडपर्व खर्च निकासा गर्ने–नगर्ने अवस्थाबारे जानकारी दिँदै, निकासा गर्ने पालिकाका प्रमुखलाई धन्यवाद ज्ञापन गरेका छन् ।
निकासा गर्ने पालिका :- जनकपुरधाम उपमहानगरपालिका,गणेशानचारनाथ नगरपालिका,सबैला नगरपालिका,विदेह नगरपालिका,लक्ष्मीनियाँ गाउँपालिका,बटेश्वर गाउँपालिका
निकासा नगर्ने पालिका :- क्षीरेश्वरनाथ नगरपालिका,मिथिला विहारी नगरपालिका,धनुषाधाम नगरपालिका,शहीदनगर नगरपालिका,कमला नगरपालिका,हंसपुर नगरपालिका,धनौजी गाउँपालिका,मुखियापट्टी मुसहरनिया गाउँपालिका,मिथिला नगरपालिका,औरही गाउँपालिका,जनकन्दिनी गाउँपालिका,नगराइन नगरपालिका
अध्यक्ष यादवले निकासा नगरेका पालिका प्रमुखलगायत जनप्रतिनिधिलाई पनि “विशेष धन्यवाद” दिँदै तिहार–छठ पर्वअघि तलब–भत्ता निकासा गर्न बलियो आग्रह गरेका छन् । उनले अन्यथा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी स्थानीय सरकारका प्रमुख तथा सरोकारवाला जनप्रतिनिधिहरूले नै वहन गर्नुपर्ने चेतावनीसमेत दिएका छन् ।यसअघि प्रत्येक चाडपर्वअघि शिक्षक–कर्मचारीको तलब–भत्ता समयमै निकासा गर्ने–नगर्ने विषयले विवाद सिर्जना हुँदै आएको छ । यसपटक पनि धनुषाका करिब आधा पालिकाले मात्रै निकासा गरेको भन्दै शिक्षक संगठनले चर्को असन्तोष प्रकट गरेको हो ।















