सिरहामा अपहरणमा परेका १५ वर्षीय अभिषेक सिंहको हत्या, शव आँप बगैंचामा फेला

असोज ७, सिरहा। सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या भएको छ। संजय सिंहका छोरा अभिषेक आइतबार राति बेपत्ता भएका थिए भने मंगलबार बिहान उनको शव घर नजिकैको आँप बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले पुष्टि गरेको छ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मेशकुमार यादवका अनुसार मंगलबार बिहान बालकको शव फेला परेको हो। “घटनाको गम्भीरताका साथ अनुसन्धान थालिएको छ। घटनास्थलमा डग टोली बोलाउने तयारी भइरहेको छ,” उनले जानकारी दिए।

परिवारका अनुसार अभिषेक आइतबार राति करिब ८ बजे देखिन छाडेका थिए। परिवारले रातभरि खोजतलास गरे पनि फेला नपरेपछि सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको संदेश आएको थियो। त्यसपछि परिवारले तात्कालिक रूपमा प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरीले अपहरण र हत्यामा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि अनुसन्धान तीव्र बनाएको छ। स्थानीयवासीहरूले निर्दोष बालकको निर्मम हत्या भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै दोषीलाई कडा सजाय दिन माग गरेका छन्।यस घटनाले सिरहा क्षेत्रमा पुनः शंकास्पद गतिविधि र बालबालिकाको सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ।

 

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाममा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन

    Read more

    सुकुम्बासी बस्ती हटाउने निर्णयमा रास्वपाभित्रै अनभिज्ञता, सरकार–दल समन्वयमाथि प्रश्न

    Read more