“अधिकार र पहिचानका लागि मधेसकेन्द्रित दलहरू पुनः संयुक्त आन्दोलनतर्फ”

जनकपुरधाम, भदौ २० । मधेस केन्द्रित दलहरू संलग्न संघीय लोकतान्त्रिक मोर्चा ले फेरि एकपटक साझा उद्देश्यका लागि सशक्त आन्दोलनको आवश्यकता औंल्याएको छ। जनकपुरधाममा आयोजित जागरण सभामा शीर्ष नेताहरूले मधेस, थारु, आदिवासी जनजाति, दलित र पिछडावर्गलाई लक्षित षड्यन्त्रहरू तीव्र हुँदै गएको दाबी गर्दै मोर्चाबन्दी नै एक मात्र विकल्प भएको निष्कर्ष निकाले।

कार्यक्रममा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर ले मधेस आन्दोलनमा सक्रिय कार्यकर्तामाथि झुटा मुद्दा लगाएर जेल हालिएको प्रति आक्रोश व्यक्त गरे। उनले भने, “राजा हटाएर गणतन्त्र ल्याउनु उपलब्धि भए पनि मधेस अझै आत्माविहीन कंकाल बनेको छ। विचार एउटै भएकाले संयुक्त आन्दोलन अपरिहार्य छ।”

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ले कांग्रेस र कम्युनिष्ट दलहरू संघीयता र समावेशिताप्रति बेपरवाह भएको आरोप लगाए। उनले भूमि विधेयक मधेसीलाई आफ्नै भूमिमा अल्पसंख्यक बनाउन लक्षित रहेको भन्दै बराबरी हक, समान भागीदारी र स्वशासन प्राप्त नभएसम्म संघर्ष निरन्तर रहने बताए।

त्यस्तै, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो ले विगतका छुट्टाछुट्टै संघर्ष असफल भएको अनुभव साझा गर्दै, “अब मात्र एकताबद्ध मोर्चा बनेरै सफलता सम्भव छ” भन्ने धारणा राखे।

तमलोपा अध्यक्ष वृषेशचन्द्र लाल ले दुई ठूला दल संविधान संशोधनको बहानामा दुई दलिय व्यवस्था ल्याउन खोजिरहेको भन्दै त्यसले लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने चेतावनी दिए।

जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठी ले मधेसी समाज आन्तरिक रूपमा राजनीतिक तथा सामाजिक रूपमा विभाजित भएको औंल्याउँदै, अब सबै शक्ति मिलेर अघि बढ्नुको विकल्प नरहेको टिप्पणी गरे।

 

 

 

  • सम्बन्धित समाचारहरु

    देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै हिन्दु सम्राट नेपालको मागपत्र

    Read more

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more