भदौ ८, काठमाडौ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई अवसर दिने भएको छ।
पार्टीको हालै सम्पन्न बैठकले प्रदीप यादव र नवलकिशोर साहलाई मन्त्री पदबाट फिर्ता बोलाउने र तिनको स्थानमा डा. वीरेन्द्र महतो तथा रञ्जु झालाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए।
उनका अनुसार, यादव र साहलाई प्रारम्भिक चरणमा एक वर्षका लागि मात्र मन्त्री बनाइए पनि उनीहरू तोकिएको अवधिभन्दा लामो समय सरकारमा रहिसकेका छन्। अब उनीहरूले भदौ ११ भित्र राजीनामा दिने र त्यसपछि सिफारिस भएका नयाँ दुई मन्त्रीले जिम्मेवारी सम्हाल्ने तयारी भएको छ।
उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपालबाट अलग भई गठन भएको यस पार्टीले सुरुवाती चरणमै रञ्जु झाको नाम सिफारिस गरेको थियो। तर उनले त्यतिबेला विना विभागीय मन्त्री बन्न अस्वीकार गर्दै समय पर्खने अडान लिएकी थिइन्। यसपटक भने उनलाई मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ।
















