श्रावण ५ , जनकपुरधाम । जनकपुरस्थित एक गेस्ट हाउसमा शनिबार राति भएको एक युवकको विभत्स हत्या प्रकरणमा संलग्न मुख्य अभियुक्त युवतीलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा महोत्तरी गाउँपालिका–१ पर्सा टोलका ३२ वर्षीय विमलेश यादव (उर्फ शनि यादव) को छुरा प्रहारबाट हत्या भएको हो।
शनिबार राति करिब १० बजे विमलेश यादव र जुली झा नामकी युवती जनकपुर उपमहानगरपालिका–२३ मा रहेको Hotel S.P & Guest House कोठा नं. १०२ मा प्रवेश गरेका थिए। नाम दर्ता गर्दा मृतकले ‘शनि यादव’ भनेर नाम लेखाएका थिए। दुबै जना बा. ४५ प ४५८६ नम्बरको मोटरसाइकलमा होटल प्रवेश गरेका थिए।
CCTV फुटेजअनुसार, राति करिब २:५७ बजे विमलेश यादव गम्भीर घाइते अवस्थामा होटलको पहिलो तल्लाबाट तल भुइँमा खसेका थिए। उनका शरीरभरि रगत देखिएको थियो। त्यसको केही मिनेटपछि अभियुक्त युवती जुली झा कर्तव्यस्थ भएर, कुर्था–सुरुवालमा खाली खुट्टा नै होटलको भर्याङ हुँदै तल झरेर भाग्दै गरेको देखिन्छ।
घटनाको तुरुन्तै खबर पाउँदै प्रहरी चौकी जिरोमाइलबाट खटिएको प्रहरी टोली बिहान ३:२६ बजे होटल पुगेको थियो। घाइते विमलेशलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको भए पनि बिहान ७:४५ बजे उपचारको क्रममा उनको मृत्यु भयो।
मृतकका मोबाइल र होटलको CCTV जाँच गर्दा अभियुक्तको पहिचान जुली झा (२१ वर्ष), हाल जनकपुर उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने, स्थायी ठेगाना महोत्तरीको बनौटा भएको खुलेको छ।
घटनापछि फरार रहेकी जुली झालाई अनुसन्धान टोलीले शनिबार दिउँसो १२ बजे महोत्तरीको परौलतर्फ भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ भनी जिल्ला प्रहरी कार्यालय धनुषा द्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार बिमलेश सशस्त्र प्रहरीका भगौडा हुन् । उनी वैदेशिक रोजगारीमा केही वर्ष बसेर घर आएका थिए ।
‘मृतकका परिवारसँग बुझ्ने काम भइरहेको छ’, एसपी नरहरि रेग्मीले भने, ‘फोन संवाद हेर्दा कमलेश र जुलीबीच लामो समयदेखि नै सम्पर्क भएको देखिन्छ ।’
आफू डिप्रेसनमा गइसकेको र बिमलेशले आफूमाथि पटक-पटक ब्ल्याकमेलिङ गरेर शारीरिक सम्पर्क गर्दै आएको बयान जुलीले प्रहरीमा दिएकी छिन् । प्रहरीले जुलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धनुषाबाट म्याद थप लिएर अनुसन्धान गरिरहेको छ ।
जुलीले प्रहरी बयानमा भनेकी छन्,‘मसँग दुई वटा विकल्प बाँकी थियो; पहिलो- कि मैले आत्महत्या गर्नुपर्थ्यो, दोस्रो भनेको कि उसलाई मार्नुपर्थ्यो, मैले दोस्रो विकल्प रोजेँ ।’
जुलीको बयान सुनेर अनुसन्धानमा खटिएका प्रहरी समेत चकित परे । किन हत्या गरेको ? भन्ने प्रश्नमा जुलीले भनिन्,‘हामीबीच तीन वर्षअघि शारीरिक सम्बन्ध थियो, बिमलेशले हाम्रो शारीरिक सम्बन्धको फोटो र भिडियो बनाएको थियो, त्यही देखाएर मलाई पटक-पटक ब्ल्याकमेलिङ गरेर सम्बन्ध राख्यो ।’
बिमलेशले फेसबुकको फेक आईडी बनाएर आफ्ना परिवार र साथीलाई समेत शारीरिक सम्बन्धको फोटो र भिडियो पठाएर आफ्नो चरित्रहत्या गरेको आरोप जुलीको छ ।
‘पहिला हामी फेसबुकबाटै एकअर्कासँग नजिक भएका थियौं, सहमतिमै शारीरिक सम्बन्ध भएको’, जुलीले प्रारम्भिक बयानमा भनेकी छन्,‘बिमलेशले हाम्रो सम्बन्धको फोटो र भिडियो खिचेको रहेछ, पछि मलाई त्यही देखाएर पटक-पटक शारीरिक सम्बन्ध राख्न बाध्य पार्यो ।’
जुली धनुषामा बसेर स्नातक पढ्दै आएकी थिइन् । बिमलेश पनि महोत्तरीबाट झासँग सम्बन्ध राख्नकै लागि धनुषा आउँथे । घटना भएको दिन यही साउन ३ गते पनि बिमलेशले जुलीलाई गेष्ट हाउसमा बोलाएका थिए ।
राति गेष्ट हाउसमा बिमलेशले धेरै मदिरा पिएका थिए । त्यही मौकामा आफूले बिमलेशमाथि होटलको तरकारी काट्ने चक्कु प्रहार गरेको बयान जुलीले दिएकी छिन् । चक्कु प्रहार गरेपछि बिमलेश छट्पटिएर गेष्ट हाउसको एक तलामाथिबाट खसेका थिए ।
लगत्तै प्रहरीलाई खबर पुगेको थियो । प्रहरी चौकी जिरोमाइलबाट प्रहरी पुग्दा बिमलेश नग्न र रगताम्य अवस्थमा भुइँमा छट्पटाइरहेको अवस्थामा फेला परेका थिए । प्रहरीले राति नै घाइते बिमलेशलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि लगेको थियो । उपचारकै क्रममा साउन ४ गते बिहान सात बजेर ४५ मिनेटमा बिमलेशको मृत्यु भएको थियो ।
एसपी रेग्मीका अनुसार बिमलेश साउन ४ गते बिहानको दुई बजेर ५७ मिनेटमा नग्न अवस्थामा होटलको पहिलो तलाबाट रगताम्य अवस्थामा भुइँमा खसेको सीसीटीभी फुटेजमा देखिन्छ ।
‘बिमलेश भुइँमा बजारिएपछि जुली बिहान तीन बजेर चार मिनेटमा खाली खुट्टा भाग्दै गरेको दृश्य समेत सीसीटीभीमा कैद भएको छ,’ एसपी रेग्मीले भने।’
















