साउन ४,जनकपुरधाम ।—जनकपुरस्थित एक होटलमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ। धनुषा प्रहरीका अनुसार महोत्तरी गाउँपालिका–१, पर्साका २८ वर्षीय शनि भन्ने बिमलेश यादवको हत्या जनकपुरको जिरोमाइलस्थित “होटल एसपी एन्ड गेस्ट हाउस” मा शनिबार राति करीब ३ बजे भएको हो।
प्रहरी स्रोतका अनुसार यादवलाई पहिला धारिलो हतियार प्रहार गरिएको र त्यसपछि होटलको एक तला माथिबाट खसालिएको अवस्थामा फेला पारिएको थियो। गम्भीर अवस्थामा रहेका उनलाई तत्कालै प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो, तर उपचारकै क्रममा आइतबार बिहान ७:४५ बजे मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिएका छन्।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा युवतीको संलग्नता रहेको आशंका गरेको छ। होटलमा ती युवक एक युवतीसँगै बसेका थिए भन्ने जानकारी प्राप्त भएको छ।
त्यसपछि युवक एकतला माथिबाट खसेको र रगताम्य अवस्थामा भेटिएको जानकारी प्राप्त भएको छ। युवतीले नै हत्या गराएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। तर अनुसन्धान अझै जारी छ।
मृतक यादवको शव प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टमका लागि राखिएको छ। पोस्टमार्टमपछि शव परिवारलाई हस्तान्तरण गरिनेछ।
















