गोडैता नगरपालिका–१२ मधुवनीको तेस्रो वार्षिक प्रगति विवरण सार्वजनिक

गोडैता नगरपालिका–१२ मधुवनीको तेस्रो वार्षिक प्रगति विवरण सार्वजनिक, जनतामाझ सेवा र विकासमा उल्लेखनीय उपलब्धि

असार ३२, मधुवनी, सर्लाही — गोडैता नगरपालिका वडा नं. १२ का वडाध्यक्ष केशव कुमारले आफ्नो तेस्रो वर्षको कार्यकालको वार्षिक प्रगति विवरण सार्वजनिक गरेका छन्। विकास, सेवा प्रवाह र जनकल्याणका क्षेत्रमा उनले नेतृत्व गरेको योजना र उपलब्धिहरू जनसमक्ष प्रस्तुत गरिएको छ। सार्वजनिक विवरणमार्फत उनले पारदर्शिता कायम राख्दै जनताबाट प्रतिक्रिया तथा सुझाव माग गरेका छन्।

सेवा वितरण र नागरिकतामा उल्लेखनीय योगदान

वडाध्यक्ष कुमारले आफ्नो सेवा सुविधाबाट प्राप्त कुल रु. २,६४,००० जनकल्याणमा वितरण गरेका छन्। साथै वडामा निःशुल्क एम्बुलेन्स सेवा निरन्तर जारी राखिएको छ, जसले आपत्कालीन अवस्थामा नागरिकलाई सहज उपचारमा पहुँच दिलाएको छ। नागरिकता वितरणतर्फ पनि उनले उल्लेखनीय सफलता हात पारेका छन्, जसअनुसार हालसम्म ६७२ जनालाई नयाँ नागरिकता वितरण गरिएको छ।

पूर्वाधार विकासमा ठोस प्रगति

गाउँका मुख्य सडक पूर्व ९ फिट चौडा रहेकोमा समन्वय र सहकार्यमार्फत १४.५ फिटसम्म विस्तार गरिएको छ, जसमा कुनैपनि विवाद बाँकी नरहेको जनाइएको छ। मुस्लिम समुदायका लागि ईदगाह जाने नयाँ सडक निर्माण गरिएको छ भने धार्मिक सहिष्णुताको प्रतिकका रूपमा गढीमाई मन्दिरको निर्माण समेत सम्पन्न गरिएको छ।

शिक्षा र महिला सशक्तिकरणमा जोड

शिक्षाको क्षेत्रमा पनि उल्लेखनीय प्रगति देखिएको छ। बैजनाथ माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रूपमा संचालन गर्न लागिएको र विद्यालयका लागि बसको व्यवस्था अन्तिम चरणमा रहेको जनाइएको छ। बालबालिकाका लागि कक्षा बालविकासदेखि ६ कक्षासम्म अध्ययन् सामग्री र झोला वितरण गरिएको छ।

त्यस्तै, महिला तथा पिछडिएको वर्गका लागि सशक्तिकरण र जनचेतनामा विशेष ध्यान दिइएको छ। २०० जना महिला, दलित, विपन्न तथा असहाय महिलाहरुलाई सक्षरता, नेतृत्व विकास र लागूपदार्थ दुरुपयोग नियन्त्रणसम्बन्धी तालिम प्रदान गरिएको छ।

आर्थिक तथा सामाजिक रूपमा कमजोर २२ जना बालबालिकालाई प्रत्येकलाई रु.३६००।–का दरले छात्रवृत्ति वितरण गरिएको छ। महिलाहरूमा देखा पर्ने आङ खस्ने समस्याको पहिचान गरी उपचार तथा अपरेशनसम्म पुर्‍याइएको छ, जुन कार्य स्वास्थ्य सचेतना र मानवीय सेवामा वडाध्यक्षको प्रतिवद्धता झल्काउँछ।

वडाका १८ जना किशोरीलाई ४५ दिने सिलाईकटाई तालिम दिइएको छ, जसले भविष्यमा आत्मनिर्भर बन्न मद्दत गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, दक्षिणवारी टोलमा पुराना नाङ्गा तार हटाई नयाँ प्लास्टिकको तार जडान गरी सुरक्षा सुदृढीकरण गरिएको छ।

वडाध्यक्ष कुमारको नेतृत्वमा चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु. २ करोड २२ लाख बराबरको योजना केन्द्र, प्रदेश र नगरपालिका समन्वयमार्फत वडामा भित्र्याउन सफल भएका छन्। यसबाहेक, उनले शिव मन्दिरका पुजारीलाई विगत २ वर्षदेखि निजि लगानीबाट ९६ हजार रुपैयाँ पारिश्रमिक स्वरूप प्रदान गर्दै आएको उल्लेख गरिएको छ, जसले धार्मिक आस्थालाई कायम राख्नमा योगदान पुर्‍याएको छ।

वडाध्यक्ष कुमारले आफ्नो पारदर्शी कार्यशैली, समन्वय क्षमताको उपयोग, विकासमा जनताको सहभागिता, र सेवा प्रवाहमा गम्भीर प्रतिबद्धता प्रस्तुत गरेका छन्। यस प्रकारको वार्षिक विवरण सार्वजनिक गर्नु आफैँमा एक नयाँ अभ्यास हो जसले जनप्रतिनिधिलाई जवाफदेही बनाउँछ र जनतालाई जागरूक बनाउँछ।

उनको कार्यकालको तीन वर्षको उपलब्धि हेर्दा गोडैता नगरपालिका–१२ लाई समावेशी विकास, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र पूर्वाधारको सन्तुलित संयोजनले सम्पन्न बनाएको देखिन्छ। यद्यपि, उनले आफैँ पनि सबै सरोकारवालाहरुलाई सुझाव दिन अनुरोध गर्दै आगामी वर्षको योजना अझ प्रभावकारी बनाउने संकेत गरेका छन्।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    Leave a Reply