मैथिली साहित्य समाजको आयोजनामा मासिक कवि गोष्ठी सम्पन्न

असार २१, जनकपुरधाम। मैथिली साहित्य समाज जनकपुरधामको आयोजनामा १३७औ  नियमित मासिक कवि गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ। जनकपुरधामको मिनापको सभा हलमा आयोजित उक्त गोष्ठीमा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता चर्चित साहित्यकार मनोज प्रमेशले गर्नुभयो भने प्रमुख अतिथि स्वरूप वरिष्ठ कवि देविकान्त मिश्रले आआफ्ना अनुभव र विचार प्रस्तुत गर्दै मैथिली साहित्यको समृद्धि र संरक्षणमा यस्ता कार्यक्रमहरूको निरन्तरताको आवश्यकता औंल्याउनुभयो।

गोष्ठीमा सहभागि कविहरूले विभिन्न सामाजिक, सांस्कृतिक तथा व्यक्तिगत भावनालाई समेट्दै रोचक र भावनात्मक कविताहरू वाचन गरेका थिए।

कार्यक्रममा काशीकान्त झा, सुमित कुमार, सिवानी मिश्र,बिजय दत्त मणि ,  मनमोहन झा, शीतल झा, फुलेन्द्र,लाल कर्ण , वैद्यनाथ पासवान, अशोक दत्त, विजय कुमार यादव लगायतका कविहरूको उपस्थिति रहेको थियो। कविहरूले आफ्नो विचार, अनुभूति, प्रेम, समाज, राजनीति र परम्पराबीचको द्वन्द्वलाई सशक्त ढंगले प्रस्तुत गरेका थिए।

कवि सुमित कुमारको समसामयिक राजनीतिक व्यंग्य, कवियत्री सिवानी मिश्रको नारी अनुभवमा आधारित कविता र काशीकान्त झाको पारम्परिक शैलीले कार्यक्रममा नयाँ ऊर्जा थपेको थियो।

कविता गोष्ठीको समापनमा आयोजक संस्थाले आगामी महिनाको गोष्ठी अझ बढी व्यवस्थित र सहभागीमूलक बनाउने प्रतिबद्धता जनाएको छ।

मैथिली साहित्य समाजका अनुसार यस्ता मासिक कार्यक्रमले स्थानीय स्तरमा साहित्यिक चेतना फैलाउने र नयाँ प्रतिभालाई प्रोत्साहित गर्ने लक्ष्य राखिएको छ।

जनकपुरधाममा मैथिली भाषाको संरक्षण र प्रवर्द्धनका लागि नियमित आयोजना भइरहेको कवि गोष्ठीले अहिले नवोदितदेखि स्थापित कविहरूलाई एउटै मञ्चमा ल्याउने सशक्त माध्यमका रूपमा स्थान बनाएको छ।

  • सम्बन्धित समाचारहरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव सङ्कलन

    Read more

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    Leave a Reply