रास्वपा नेता लक्ष्मेश्वर यादवको अभिव्यक्तिप्रति धनुषाका प्रहरी प्रमुखको आपत्ति

१० कात्तिक , जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता  लक्ष्मेश्वर यादवको अभिव्यक्तिप्रति जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुखले गम्भीर आपत्ति जनाएका छन्। यादवले एक कार्यक्रममा प्रहरी संगठन, विभिन्न सरकारी निकाय तथा आफ्नो नाम लिएर आपत्तिजनक र भ्रामक टिप्पणी गरेको भन्दै प्रहरी प्रमुखले कानुनी उपचारमा जाने चेतावनी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुखद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, हंसपुर नगरपालिका–८, भतही टोलका ५६ वर्षीय यादवले परिवारकी एक महिला सदस्य हराएको भन्दै २०८३ भदौ १७ गते कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए।

प्रहरीका अनुसार, अनुसन्धानका क्रममा ती महिला हराएको नभई काठमाडौं जिल्ला अदालतबाट २०८३ वैशाख ८ गते नै विवाहको नाता कायम भइसकेको र भदौ १४ गते आफ्नो पतिसँग गएको खुलेको थियो। महिलासँग निवेदक तथा परिवारका अन्य सदस्यको प्रत्यक्ष कुराकानी गराउनुका साथै विवाहसम्बन्धी प्रमाणसमेत देखाएर वास्तविक अवस्थाबारे जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ।

प्रहरी प्रमुखले यादवले आफ्नो मञ्जुरीबिना विवाह भएको भन्दै सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गरी जबर्जस्ती छुटाइदिन दबाब दिएको आरोप लगाएका छन्। त्यसो नगरे हजारौँ मानिस ल्याएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने धम्कीसमेत दिएको उनको दाबी छ।

गैरकानुनी कार्य गर्न अस्वीकार गरेपछि प्रतिशोध साँध्दै आफूविरुद्ध तथ्यहीन र द्वेषपूर्ण आरोप लगाइएको प्रहरी प्रमुखको भनाइ छ।

आफू र प्रहरी संगठनको मर्यादामा आँच आउने गरी मनगढन्ते आरोप लगाइएको भन्दै उनले त्यसको घोर निन्दा र भर्त्सना गरेका छन्। साथै, आरोप पुष्टि गर्न चुनौती दिँदै घटनाबारे भ्रममा नपर्न र सामाजिक सञ्जालमा सत्यतथ्य नबुझी सामग्री शेयर नगर्न आग्रह गरेका छन्।

यस विषयमा प्रचलित कानुनबमोजिमको उपचारमा जाने जानकारीसमेत प्रहरी प्रमुखले विज्ञप्तिमार्फत गराएका छन्।

 

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more