८ कात्तिक , काठमाडौ । दसैँपछि नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। दसैँपछिको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि गत असोज ३० गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ रहेको थियो। दसैँअघि कायम भएको मूल्यको तुलनामा आइतबार सुनको मूल्यमा ठूलो गिरावट आएको हो।
महासंघका अनुसार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ३८ हजार ७७० रुपैयाँ कायम भएको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। दसैँअघि प्रतितोला ४ हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ३९१ रुपैयाँ कायम भएको छ। दसैँअघि चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ५५८ रुपैयाँ रहेको थियो।
दसैँपछि सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएसँगै नेपाली बजारमा बहुमूल्य धातुको कारोबार प्रभावित हुने देखिएको छ।



















