७ कात्तिक , बिरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्यान्डिडेट क्लब’ अभ्यासप्रति प्रश्न उठाउँदै यसलाई अनैतिक राजनीतिको सुरुवात भएको टिप्पणी गरेका छन्।
शनिबार वीरगन्जमा आयोजित आजपा मधेस प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले स्थानीय तहको निर्वाचन निर्दलीय बनाउने वकालत गर्ने रास्वपाले पार्टीगत रूपमा उम्मेदवार छनोटको अभ्यास गर्नु विरोधाभासपूर्ण भएको बताएका हुन्।
स्थानीय तहलाई दलगत राजनीतिको प्रभावबाट मुक्त बनाउने प्रतिबद्धता जनाएर जनताको मत माग्ने तर व्यवहारमा पार्टीकै नाममा उम्मेदवार छनोट गर्ने अभ्यास गर्नु जनताप्रतिको धोका भएको साहको भनाइ थियो।
‘स्थानीय तहलाई निर्दलीय बनाउँछु भनेर भोट लिनेहरूले कुन नैतिकताले क्यान्डिडेट क्लब जन्माएका हुन् ?’ भन्ने प्रश्न उठाउँदै उनले रास्वपाको यस्तो अभ्यासले जनतासामु गरिएका प्रतिबद्धतामाथि प्रश्न खडा गरेको बताए।
स्थानीय तहको निर्वाचन र शासन सञ्चालनमा दलगत राजनीतिको भूमिकाबारे बहस भइरहेका बेला रास्वपाले अघि सारेको उम्मेदवार छनोट प्रक्रियाले उसको राजनीतिक प्रतिबद्धता र व्यवहारबीच विरोधाभास देखाएको साहले आरोप लगाए।
यसअघि रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरूले स्थानीय तहको निर्वाचन निर्दलीय बनाउने विषयमा बहस गर्दै आएका थिए। तर, स्थानीय निर्वाचनको घोषणा हुनुअघि नै रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएको भन्दै साहले आलोचना गरेका हुन्।
साहको टिप्पणीसँगै स्थानीय तहमा दलीय प्रतिस्पर्धा, उम्मेदवार छनोटको प्रक्रिया र राजनीतिक दलहरूले जनतासामु गरेका प्रतिबद्धताको कार्यान्वयनबारे बहस थप चर्किने देखिएको छ।
आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा बसेको बैठकमा पार्टीका उपाध्यक्ष एवं मधेस प्रदेश इन्चार्ज आत्माराम साह, महासचिव त्रिभुवन साह, मौलापुरकी मेयर रिनाकुमारी साह, उपमहासचिवद्वय लालबाबू मन्सुरी र रन्जुकुमारी साह, प्रवक्ता सुभाष साह तथा सचिवहरू ठागा दास, विजय यादव र रामनाथ माझीलगायत प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।



















