२५ असोज, जनकपुरधाम। जनकपुरधाममा छुरा प्रहार गरी युवकको हत्या गरेको आरोप लागेका इर्साद खानसँग खुकुरी प्रदर्शन र अभद्र भिडियो बनाएको विषयमा सशस्त्र प्रहरी जवान ऋषि मण्डलमाथि अनुसन्धान भइरहेको छ।
सामाजिक सञ्जालमा प्रहरी संगठनको आचरणविपरीत देखिने भिडियो भाइरल भएपछि मण्डललाई पर्साबाट झिकाएर गणमा राखी सोधपुछ तथा अनुसन्धान सुरु गरिएको सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डीआईजी विष्णु भट्टले जानकारी दिएका छन्।
बिहीबार साँझ जनकपुरधाममा भएको छुरा प्रहार घटनामा जनकपुरधाम उपमहानगरपालिका–५ निवासी २४ वर्षीय आमिन साफीको मृत्यु भएको थियो भने २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका थिए।
घटनाका आरोपी इर्साद खानसँग मण्डलले केही महिनाअघि रिल्स तथा टिकटक भिडियो बनाएको खुलेको छ। भाइरल भिडियोमा इर्सादले खल्तीबाट खुकुरी निकालेर प्रदर्शन गर्दै अभद्र गाली र हिंसात्मक चेतावनी दिएको देखिन्छ। उक्त भिडियोमा सशस्त्र प्रहरी जवान मण्डल पनि देखिएका छन्।
प्रहरी अनुसन्धानअनुसार इर्सादले अर्को समुदायलाई लक्षित गरी सामाजिक सद्भाव बिगार्न सक्ने प्रकृतिका भिडियोसमेत बनाएका थिए। छुरा प्रहार घटनापछि उनका पुराना भिडियो पुनः सामाजिक सञ्जालमा फैलिएका हुन्।
भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरी जवान मण्डलको भूमिका र संगठनको आचरणसम्बन्धी विषयमा प्रश्न उठेको छ। डीआईजी भट्टका अनुसार यस विषयमा नेपाल प्रहरीसँग समेत समन्वय भइरहेको छ।
मण्डलको भूमिकाबारे अन्तिम निष्कर्ष अनुसन्धानपछि मात्रै स्पष्ट हुने र त्यसैका आधारमा थप कारबाहीबारे निर्णय हुने जनाइएको छ।




















