२३ असोज, जनकपुरधाम। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–५ स्थित रहिमपथ नजिकै धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन्।
स्थानीयका अनुसार दुई युवकलाई छुरा प्रहार गरिएको घटनामा सोनारपट्टी दाहाचोक निवासी करिब २४ वर्षीय आमिन साफीको मृत्यु भएको हो। सोही ठाउँका करिब २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन्।
छुरा प्रहारबाट घाइते भएका दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो। उपचारकै क्रममा आमिन साफीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव अस्पतालको शवगृहमा राखिएको छ। घाइते इम्तियाज राइनको सोही अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका करिब २२ वर्षीय मोहम्मद इर्साद खानलाई पक्राउ गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।




















