१० असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना चुहाउने जोसुकैलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने व्यक्ति वा पदाधिकारीलाई कुनै उन्मुक्ति नदिइने बताएका हुन्।
उनले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको उल्लेख गरेका छन्।
गुरुङले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको स्पष्ट पारेका छन्। पदका कारण सूचनामा पहुँच प्राप्त हुने भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ।
उनका अनुसार सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।
यसैबीच, संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले सोमबार सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो। गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविपरीत कार्य गरेको र संवेदनशील सूचना चुहाएको आरोप लगाएको छ।




















