१६ असोज, जनकपुरधाम। नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै धनुषा प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका बेला हुने भीडभाडको मौका छोपी हुन सक्ने चोरी, लुटपाट, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एसपी रुपेश खड्काले चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन जिल्लाभर विशेष सुरक्षा रणनीति लागू गरिएको जानकारी दिए।
उनका अनुसार चाडपर्व अवधिभर १ हजार २११ प्रहरीलाई विभिन्न टोलीमा विभाजन गरी परिचालन गरिनेछ। सुरक्षा योजनाअन्तर्गत जिल्लाका ७० स्थानमा पिकेट गस्ती, ४६ वटा पैदल गस्ती, ७ स्थानमा बजार अनुगमन, ७ वटा स्वीप अपरेसन, १५ वटा विपद् प्रतिकार्य टोली र १३ वटा गाडी मोबाइल गस्ती परिचालन गरिनेछ।
त्यस्तै, लामो दूरीका सवारीसाधनमा नियमित चेकजाँच, राजमार्गमा दैनिक सवारी सुरक्षा जाँच तथा लालगढमा चालकलाई लक्षित गरी रिफ्रेस सेन्टर सञ्चालन गरिने प्रहरीले जनाएको छ।
बैंकदेखि सुनचाँदी पसलसम्म विशेष निगरानी
चाडपर्वको समयमा हुन सक्ने चोरी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र मोटरसाइकल चोरी नियन्त्रणमा विशेष निगरानी बढाइने प्रहरीले जनाएको छ।
त्यसैगरी, लागुऔषधको कारोबार तथा सेवन नियन्त्रणका लागि समेत निगरानी र चेकजाँचलाई प्रभावकारी बनाइनेछ।
भीडभाड हुने बजार, मुख्य चोक, राजमार्ग तथा संवेदनशील क्षेत्रमा प्रहरीको उपस्थिति बढाइने एसपी खड्काले बताए। चाडपर्वका समयमा हुन सक्ने सम्भावित घटना तथा दुर्घटनालाई मध्यनजर गर्दै विपद् प्रतिकार्य टोलीसमेत तयारी अवस्थामा राखिने प्रहरीले जनाएको छ।
धनुषा प्रहरीले चाडपर्वका क्रममा सर्वसाधारणको आवतजावतलाई सुरक्षित र सहज बनाउन सुरक्षा योजनाअनुसार नियमित गस्ती, निगरानी तथा चेकजाँचलाई निरन्तरता दिने जनाएको छ।




















